नौ हप्तामा १ खर्ब निक्षेप संकलन, कुकुरका लागि २ अर्ब ९६ करोडको छुर्पी !

काठमाडाैँ । वैशाख यताका नौ सातामा बैंक तथा वित्तीय संस्थामा १ खर्ब निक्षेप संकलन भएको छ । वैशाख २ सम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब रहेकोमा असार ८ गते ५५ खर्ब ७१ अर्ब पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ७ गते कुल निक्षेप ५५ खर्ब ७६ अर्ब थियो । समीक्षा अवधिमा कर्जा प्रवाह ५ अर्बले बढेर ४८ खर्ब ५० अर्बबाट ४८ खर्ब ५५ अर्ब रुपैयाँ भएको छ । नौ साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह समीक्षा अवधिमा ४३ खर्ब १ अर्बबाट १ अर्बले घटेर ४३ खर्बमा झरेको छ । अहिले वित्तीय प्रणालीमा ३ खर्ब ३५ अर्बभन्दा बढी अधिक तरलता (लगानीयोग्य रकम) छ । तरलता योग्य रकम बढ्दै जाँदा अन्तर बैंक ब्याजदर पनि वैशाख २ गतेको ७ प्रतिशतबाट झरेर असार ८ गते २.६५ प्रतिशतमा आइपुगेको छ । भने, लगानीयोग्य रकम पर्याप्त भएपछि आन्तरिक ऋणको ब्याज पनि घटेको छ ।

निर्यातमा प्रोत्साहनको नीतिले सिमेन्ट उद्योगमा बहार

 सरकारले निर्यातमा प्रोत्साहन नीति लिएपछि सिमेन्ट निर्यातमा भारी वृद्धि भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने तथा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरिएपछि उद्योगी उत्साहित बनेका हुन् । निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् । चालू आर्थिक वर्षको ९ महिनामा ४२ करोड ३१ लाखको सिमेन्ट निर्यात भएकोमा त्यसयताका २ महिनामा मात्रै २५ करोडभन्दा बढीको निर्यात भइसकेको छ । आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट भारत निकासी भएको हो ।

बाग्लुङको बजेट : छोरीहरुलाई १५ लाख 

आर्थिक वर्ष ०८०÷८१ का लागि जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । बागलुङ नगरपालिकाले  चालूतर्फ १५ करोड ४० लाख ५० हजार, पुँजीगततर्फ १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । नयाँ जनप्रतिनिधि आएसँगै पहिलो निर्णय बालमैत्री नगर घोषणा गर्न एक करोड २५ लाख र नगरकी छोरी अभियान कार्यक्रमका लागि १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । नगरपालिकाको नयाँ र लोकप्रिय कार्यक्रमको रूपमा रहेको आगामी वर्षदेखि हरेक छोरीको जन्म हुनेबित्तिकै पाँच हजार रुपैयाँको मुद्दती खाता खोल्ने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नीति ल्याएका थिए । नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरणतर्फ १५ करोड ८५ लाख, राजस्व बाँडफाँडतर्फ १२ करोड ३४ लाख ८२ हजार ससर्त अनुदानतर्फ ७१ करोड २६ लाख र समपूरक अनुदानतर्फ एक करोड ८५ लाख आय अनुमान गरिएको छ। प्रदेश सरकारको ६ करोड १८ लाख र आन्तरिक आय नौ करोड २४ लाख हुने अनुमान गरिएको छ ।

कुकुरका लागि २ अर्ब ९६ करोडको छुर्पी

कुकुरको खानाको लागि प्रयोग हुने छुर्पीको निर्यात बढेको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष सोही अविधमा १४.९६ प्रतिशतले छुर्पीको निर्यात बढेको हो ।  चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको भन्सार विभागले जनाएको छ । कुकुरको खानाअन्तर्गत पर्ने छुर्पी धेरै निर्यात हुने गरेको विभागले जनाएको छ ।  गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५८ करोड ५ लाख ४२ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष साउनदेखि जेठसम्म १५ लाख ५२ हजार २२२ किलो निर्यात भएको थियो । छुर्पी सबैभन्दा बढी क्यानडामा निर्यात हुने गरेको विभागको तथ्यांकले देखाउँछ । फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत विभिन्न मुलुकमा पनि निर्यात हुन्छ ।

चाँदी आयात घट्यो

यो वर्ष चाँदी आयातमा उलेख्य कमी छ। गत वर्ष १३ अर्ब रूपैयाँभन्दा बढीको चाँदी भित्रिँदा यसपालि सवा अर्ब रूपैयाँ बराबरको मात्र भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ करोड ९२ लाख ग्राम चाँदी आयात भएको थियो। २०७६/७७ मा ९ करोड २० लाख ग्राम र २०७७/७८ मा ७ करोड १७ लाख ग्राम भित्रियो। त्यस्तै २०७८र/७९ मा १३ करोड ९० लाख ग्राम चाँदी भित्रिएको थियो। यो आर्थिक वर्ष सकिनै लाग्दा भने अहिलेसम्म जम्मा एक करोड २६ लाख ग्राम मात्र चाँदी आयात भएको छ । सरकारले गत वर्ष विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई कारण देखाउँदै चाँदी आयातमा बाहिरिने रकम घटाउन एकपछि अर्को नीतिगत कडाइ सरकारले गरेको थियो ।

नेप्से परिसूचक ११ अंकले वृद्धि 

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आइतबार ६२.२१ अंकले बढेको नेप्से सोमबार ११.६९ अंकले बढेर दुई हजार १२९.४२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०।९९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । सोमबार कारोबारमा आएका दुई सय ७९ कम्पनीको एक करोड १९ लाख तीन हजार कित्ता सेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ६ अर्ब ४९ करोड चार लाख १२ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top