
घरआँगन शोकको मौनताले ढाकिएको थियो। दलानमा सेतो पहिरनमा बसेका मनोज यादवको अनुहारमा पीडाको गहिरो रेखा देखिन्थ्यो। बहिनी निर्मलाका आँखाबाट आँसु रोकिएका थिएनन् भने पत्नी पुनम यादव पतिस्मृतिमा निरन्तर भक्कानिँदै थिइन्।
घरको मूल आधारस्तम्भ अनाहक मारिएपछि परिवार स्तब्ध बनेको छ। केही समयअघि मात्रै बुवाको निधन भइसकेको यो परिवारले छोटो अन्तरालमै दोहोरो पीडा भोग्नुपरेको छ। अझ पीडादायी पक्ष, हत्यारा अहिलेसम्म पत्ता नलाग्नु हो।
सिरहाको वैशाखास्थित घरअगाडि वृद्ध, महिला र बालबालिका मौन बसेका थिए। सबैका आँखामा एउटै प्रश्न झल्किन्थ्यो—कोही आएर न्याय दिलाइदेला कि?
सञ्चारकर्मी देख्नासाथ उनीहरूले हात जोड्दै आग्रह गरे, “जसरी भए पनि न्याय दिलाइदिनुस्।”
सर्लाहीमा हत्या गरिएका सब–इन्जिनियर प्रमोदकुमार यादवको परिवार आज पनि आशा र पीडाको दोबाटोमा उभिएको छ। सर्लाहीबाट उठेको त्यो घटनाले सिरहाको एउटा घर मात्र होइन, सिंगो समाजको मन भारी बनाएको छ।





