
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा व्यापक प्रगति भएको दाबी गरेका छन् । आफुले सरकारको नेतृत्व गरेको पहिलो ६ महिनाको अवधिमा रासयनिक मल अभावको श्रृङखला सकिएको र भौतिक पूर्वाधार विकासमा पनि उल्लेख्य प्रगति भएको उनको भनाई छ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिदैँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र जागरुक भएको बताएका छन् । मुलुक श्रीलंकाजस्तै आर्थिक संकटमा जाने भाष्य स्थापित भएको बेला आफूले यो देशको नेतृत्व लिदाँ निराशा मात्रै भएको तर अब अर्थतन्त्रका महत्वपुर्ण सुचकहरु सकारात्मक बन्दै गएको उनको भनाई छ । अर्थतन्त्रमा आएको सुधार सरकारको मात्रै उपलब्धि नभएर पुरै राष्ट्रको उपलब्धि भएको प्रधानमन्त्री दाहालले बताए । रोष्ट्रममा उभिएर आफ्नो नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भएको भन्दै सरकारको समिक्षाको रुपमा उनले गरेका प्रमुख ५ दावीहरु यस्ता छन् :
१. अर्थतन्त्रलाई गतिशीलतासँगै फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्यायको प्रत्याभूति, समष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासनको उद्देश्यसहितको अहिलेको बजेटबाट उत्पादन र उत्पादकत्व वृद्धि, देशभित्रै आय र रोजगारीका अवसरहरूको प्रत्याभूतिमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।
२. छ महिना यता अर्थतन्त्रका अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक रहेका छन् । कूल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको, ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने र विप्रेषण उल्लेखनीय रुपमा वृद्धि भएको प्रधानमन्त्री दाहालको भनाई छ । उनले, वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार भएको, राजस्व परिचालनमा सुधार आएको, नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगम नाफा गएको र नेपाल वायुसेवा निगमको आर्थिक अवस्था पनि सुधारोन्मुख रहेको बताए ।
३. प्रधानमन्त्री दाहालले केहीवर्ष यता नेपाली किसानले लगातार भोग्दै आएको रासायनिक मल अभावको शृङखला सकिएको जनाए । प्रधानमन्त्री दाहालले चालू वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको बताए । यससँगै, १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भएको र आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको र भर्खरैको भारत भ्रमणका क्रममा पनि यो विषय उठाएका उनले बताए ।
४. संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको र ठूला सम्भावित लगानीकर्तासँग प्रधानमन्त्रीकै तहबाट अग्रसरताका लागि आवश्यक गृहकार्य भइरहेको प्रधानमन्त्री दाहालले बताए । यसबीचमा करिब ३५ अर्व वैदेशिक सहायता सम्झौतामा हस्ताक्षर भएको छ । उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब नै वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको छ । लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत परियोजनाका लागि रु. १ खर्ब ६७ अर्ब लगानी स्वीकृत भएको छ । आर्थिक सुधारकै परिणामस्वरूप कम्तीमा २० हजार थप रोजगारी सिर्जना गर्ने गरी रू. २ खर्ब ५ अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएका छन । यसलाई पनि प्रधानमन्त्रीले सरकारको उपलव्धिका रुपमा पेश गरेका छन् ।
५. प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधार विकासमा पनि उल्लेख्य प्रगति भएको बताए । यसबीचमा ४ सय ८ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ र थप तीन प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । त्यस्तै विद्युतमा शतप्रतिशत जनताको पहुँच हुने सबै आधार तयार भएको पनि प्रधानमन्त्रीले दावी गरेका छन् ।