पत्नीको यादमा मदनकृष्णको बह, तिमी जून जस्तै लाग्छौ प्यारो

पत्नीको यादमा मदनकृष्णको बह, तिमी जून जस्तै लाग्छौ प्यारो

काठमाडौं ।

ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले श्रीमती यशोदा श्रेष्ठको सम्झनामा मार्मिक गीत तयार पारेर सार्वजनिक गरेका छन्।

क्यान्सरका कारण अल्पायुमै ज्यान गुमाउन बाध्य पत्नीको सम्झनामा मनको बह पोख्दै उनले रचना गरेको गीत तिमी जून जस्तै लाग्छौ प्यारो उनकै गायिका, म्युजिक भिडियो निर्देशक तथा कलाकार छोरी सराना श्रेष्ठले मातृवियोगको पीडा भावमा गाएकी छन्।

गीतमा मदनृष्णका अभिनेता, गायक र संगीतकार छोरा यमन श्रेष्ठले संगीत भरेका छन्। मदनकृष्णले धेरैअघि नै रचना गरेको र यमनले संगीत तयार पारेको गीत हालै रेकर्ड गरी भिडियोसहित सरानाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

तिमी जून जस्तै लाग्छौ प्यारो
तिमी जून जस्तै छ्यौ शितल
तर, जून जस्तै टाढा
निक्कै टाढा, टाढा छौ तिमी।
पत्नी यशोदालाई मिस गर्दै मदनकृष्णले लेखेको गीतको भिडियो उनको यही संवादबाट शुरु हुन्छ।
तिमी मेरो लागि खाली मृगतृष्णा
यो थाहा छ नि मलाई
तैपनि यो मन एकोहोरिएर
खोजी रहन्छ तिमीलाई, खोजी रहन्छ तिमीलाई
तिमी हौ एक मिठो सपना
तिमी मिठो सपनाझैँ प्यारो
तर, सपना जति नै टाढा
निकै टाढा धेरै टाढा, टाढा छौ तिमी।
भिडियोको बीच बीचमा उनी भावुक ढँगले गीतका शब्दलाई संवादका रूपमा बोल्दै प्रस्तुत हुन्छन्।
धेरै टाढाको घामको न्यानो धर्तीले पाइरहेझैँ
टाढैबाट तिम्रो त्यो माया पाइरहुँ म सधैं नै
पाइरहुँ म सधैं नै
तिमी हिउँदको घामझैँ न्यानो
तिमी इन्द्रधनुषझैँ  रंगीन
तर, आकाशको ताराझैँ टाढा
निकै टाढा धेरै टाढा, टाढा छौ तिमी।

गीतमा मदनकृष्ण पत्नीको बयान गर्दै विरहमा पोखिएका छन्। गायिका सरानाकै परिकल्पना र निर्देशनमा तयार भएको गीतको भिडियोमा श्रीमतीको सम्झनामा तड्पिरहेका मदनकृष्ण र आमाको यादमा टोलाइरहेकी छोरी सरानालाई देख्न सकिन्छ।

उत्तम हुमागाईंको छायांकन र हरि हुमागाईंको सम्पादन रहेको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *