पत्रकार राम अवतार थारु सम्मानित, थारु समुदायको हकहितमा योगदानको उच्च कदर

पत्रकार राम अवतार थारु सम्मानित, थारु समुदायको हकहितमा योगदानको उच्च कदर

कपिलवस्तु, २ माघ।
विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील पत्रकार राम अवतार (चौधरी) थारु थारु समुदायको हकहित र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) मलेसिया परिवारले नगद राशिसहित सम्मान गरेको छ।

थारु समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, र ग्रामीण क्षेत्रका विषयवस्तुहरूलाई कलम मार्फत उजागर गर्दै आएका पत्रकार थारुलाई थाकस मलेसिया र थाकस बुद्धभूमि नगर कार्यसमिति परिवारले संयुक्त रूपमा सम्मान गरेका हुन्। थाकस मलेसियाका अध्यक्ष मनिराम थारुले पत्रकार थारुको योगदानलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको जानकारी दिए।

सामाजिक अभियन्ता आर.एन. चौधरीले नेपालमा थारु समुदायका ग्रामीण भेगका पत्रकारलाई पहिलोपटक मलेसियाबाट पुरस्कृत गर्ने अभियानको सुरुवात पत्रकार राम अवतार थारुबाटै गरिएको बताए। उनले भने, “यस्ता सम्मानले पत्रकारितामा समर्पित व्यक्तिहरूलाई थप प्रेरणा प्रदान गर्नेछ र थारु समुदायको मुद्दालाई अझ सशक्त रूपमा उठाउनेछ।”

पत्रकार थारु थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशका पूर्व सदस्यसमेत हुन्। उनी राष्ट्रिय दैनिक बुटवल टुडे, रेडियो नेपाल, र बुद्धआवाज टेलिभिजन लगायतका सञ्चारमाध्यममा आबद्ध रहँदै एक दशकदेखि सक्रिय पत्रकारितामा लागिपरेका छन्। थारु समुदायको हकहितमा समर्पित यस्ता कदमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *