पोखरा । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको दोस्रो अधिवेसन शनिबार पोखरमा भएको छ । अधिवेशनले १९ सदस्य कार्यसमिति सर्वसम्मच गठन गरेको छ । जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी २०७९ चैत २४ र २५ गते काठमाडांैमा भएको संघको १२ औं अधिवेशनबाटै प्रदेश अध्यक्ष चुनिएका थिए । बाँकी पदाधिकारी र सदस्य प्रदेशको पहिलो अधिवेशनले टुंग्याएको हो । अधिवेशनमा गण्डकी प्रदेशका ८६ सामुदायिक क्याम्पसमध्ये ६३ बाट प्रतिनिधि आएका थिए ।
अधिवेशनको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आफू सामुदायिक क्याम्पस संघ नजिक रहेको बताए । कम शुल्कमा गुणस्तरीय शिक्षा दिएका सामुदायिक क्याम्पसहरुले राज्यलाई गुन लगाएको उनको भनाइ थियो । गण्डकी सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार भन्ने नाराका साथ बजेट विनियोजन गरेको उनको भनाइ थियो ।
सामुदायिक क्याम्पसले सरकारबाट नियमित अनुदान, कर छुट लगायत माग गरेका छन्
कार्यक्रममा मन्त्रीहरु कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी र आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले पनि बोलेका थिए । दुबै मन्त्री समुदायिक क्याम्पसमा लामो समयदेखि अध्यक्ष भएर काम गर्दै आएका छन् । गण्डकी प्रदेश योजना तथा नीति आयोगका उपाध्यक्ष डा. कृण्णचन्द्र देवकोटाले अब बन्ने सरकारको शिक्षा नीति बनाउदा सामुदायिक क्याम्पसको प्रदेश समितिसँग पनि छलफल गर्ने बताए ।
कालिका बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष किरण केसीले स्वागत गरेको कार्यक्रम गण्डकी प्रदेश सामुदायिक क्याम्पस संघका निवर्तमान सचिव रामचन्द्र दुवाडीले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पब्लिक क्याम्पस संघका गण्डकीका अध्यक्ष ऋषिराम बुढाथोकीले सामुदायिक क्याम्पसले राज्यको भार बोकिदिएको, राज्य पुग्न नसकेको ठाउँमा सामुदायिक क्याम्पसहरुले उच्च शिक्षा कम शुल्कमा पठनपाठन गराउँदै आएको बताए ।
उनले सामुदायिक क्याम्पसलाई प्रदेश सरकारले नियमित अनुदानको व्यवस्था गर्नुपर्ने, भोगचलन गरेको जग्गा दर्ता गर्न नीतिगत निणय गनुपर्ने, कर सरकारी सरह हुनुपर्ने बताउँदै प्रदेश सरकारले आफ्नो दायित्व बढाउनुपर्ने माग गरे ।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका निवर्तमान अध्यक्ष शिवराज सञ्जेल, नेपाल पब्लिक क्याम्पस संघका पूर्व अध्यक्ष तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, संघका केन्द्रीय अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा संघका केन्द्रीय सल्लाहकार एवं गण्डकी प्रदेशका पूर्व अध्यक्ष बिरन्जी गौतमले सामुदयिक क्याम्पसले आफ्नो क्षमता बढाउनुपर्ने, जनशक्ति आफ्नै बनाउनुपर्ने बताएका थिए । निर्वतमान अध्यक्ष महाप्रसाद हडखलेले सामुदायिक क्याम्पसहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा २८ वर्ष मस्र्याङ्दी बहमुखी क्याम्पसमा प्रमुख रहेर सेवा गरेका हरिबाबु थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा गण्डकी प्रदेशका सामुदायिक क्याम्पसहरुको भावी कार्यदिशामाथि व्यापक छलफल भएको थियो । गुणस्तरीय उच्च शिक्षाका लागि अवसर र चुनौती एवं स्वायत्त कार्यक्रममाथि लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्राडा ताराप्रसाद उपाध्ययले सहभागीलाई प्रशिक्षण दिएका थिए । बदलिँदो परिस्थितिमा सामुदायिक क्याम्पसमाथि आउन सक्ने चुनौती, अबको गन्तव्य र रोजगारमूलक तथा व्यावहारिक शिक्षामाथि छलफल भएको थियो ।
अधिवेशनमा निर्वाचनका लागि हरिबाबु थापाको संयोजकत्वमा मध्यबिन्दु बहुमुखी क्याम्पस प्रमुख गणेशमान गिरी नारायण सुवेदी सदस्य रहेको समिति बनाइएको थियो । समितिले सर्वसम्मतरुपमा ऋषिराम बुढाथोकी अध्यक्ष, महाप्रसाद हडखले निर्वतमान अध्यक्ष, उपाध्यक्षमा ३ जना क्रमश कुमारवर्ती क्याम्पसका अध्यक्ष महेन्द्रप्रसाद पोखरेल, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, नवलपुर बहुमुखी क्याम्पसका प्रमुख मुनादेवी लम्साल चयन भए ।
सचिवमा सूर्यभक्त पतनादेवीका क्याम्पस प्रमुख दीपेन्द्र पौडेल, सहसचिवमा विन्ध्यवासिनी क्याम्पस प्रमुख विजय शर्मा र कोषाध्यक्षमा मातृभूमि बहुमुखी क्याम्पस लमजुङका विष्णुकुमार श्रेष्ठ चयन भए । सदस्यमा नवजागरण क्याम्पसका देवीप्रसाद सुवेदी, बालिङ क्याम्पसका युवराज पाठक, हरिप्रसाद सुवेदी, जनज्योति क्याम्पस, जनमुखी आर्दश क्याम्पसका निराजनप्रसाद चौधरी, वहाकी सामुदायिक क्याम्पसका एकनारायण भट्टराई, सर्बोदय क्याम्पस बागलुङका फूलकुमारी शर्मा, प्रधुम्न पनेरु क्याम्पसका मन्जु पनेरु, सरस्वती टीकाका महेन्द्रराज अधिकारी, बालोदय क्याम्पसका राजेन्द्र तिमिल्सिना छन् ।