पोखरा । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी चयन भएका छन् । शनिबार पोखरामा भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी पोखराको जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् । समितिको निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले छन् ।
उपाध्यक्षमा महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल चयन भएका छन् । सचिवमा दीपेन्द्र पौडेल, सहसचिवमा विजय शर्मा र कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भए । सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी चयन भएको केन्द्रीय समिति उपाध्यक्ष लोकराज भण्डारीले जानकारी दिए ।
अधिवेशन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव दिए । उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’
सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरगत अहिले १ करोड ७५ लाख रकम विनियोजन भएको छ,’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम ५ करोड पु¥याइनेछ ।’
प्राध्यापक, सञ्चालक समिति, विद्यार्थीहरुले महसुस गर्ने गरी पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले बताए । आवश्यकता र चाहना धेरै तर स्रोत थोरै हुँदा बजेट कम भएको उनले बताए । पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यासायिक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरी कानुन निर्माण गरिने बताए । साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनिक संस्थालाई जग्गा दान गर्दा दाताले तिर्नुपर्ने कर मिनाह गर्ने गरी कानुन आवश्यक भएको बताए ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिति थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगर, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्ता लगायतको उपस्थिति थियो ।