पोखरा । अन्नपूर्ण गाउँपालिका वडा १ स्थित परशु आधारभूत विद्यालयले ६४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा विद्यालयको समग्र शैक्षिक विकास र उन्नयनका लागि गठित परशु शैक्षिक प्रतिष्ठानसमेत उद्घाटन गरियो ।
भारतीडाँडास्थित उक्त विद्यालयको स्थापना दिवस उद्घाटन पालिका अध्यक्ष विष्णुबहादुर केसी र प्रतिष्ठान प्रमुख संरक्षक प्रेमराज अधिकारीले संयुक्त गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी र गोमा अधिकारीलाई सम्मानसमेत गरेको छ । संस्थाका प्रमुख संरक्षक अधिकारी २०१६ सालमा स्थापना भएको विद्यालयका एक संस्थापक, विद्यार्थी, शिक्षक हुँदै सोही विद्यालय प्रअ समेत रहेर आफ्ना सन्ततिलाई सोही विद्यालयमा पढाएका थिए ।
सो अवसरमा विद्यालयमा विभिन्न भूमिकामा रहेर सेवा गर्ने पूर्व प्रअ, शिक्षक, विद्यालय व्यवस्थापक समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षलाई फूलको माला, दोसल्ला र सम्मानपत्र साथ सम्मान गरिएको थियो । सो अवसरमा विद्यालय आधार क्षेत्रभित्रका ८० वर्ष उमेर पुगेका ४० जना स्थानीय अभिभावकलाई गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी र ज्येष्ठ नागरिक सरोकार समाज कास्कीका आजीवन सदस्य समेत रहेका प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारीले सम्मान गरे ।
यसैगरी, विद्यालयमा हाल अध्ययनरत सबै जना विद्यार्थीलाई प्रतिष्ठान कोषाध्यक्ष ओमकार अधिकारीले आफ्नोतर्फबाट न्यानो कपडा स्विटर र टोपी सौजन्य प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयले सञ्चालन गरेको अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय हुने छात्राछात्रलाई पुरस्कार प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष केसी, पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्व विद्यार्थी एवं नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवर, पूर्व प्रअ, वडा १ का अध्यक्ष एवं प्रतिष्ठान अध्यक्ष तुलसीप्रसाद अधिकारी, पालिकाका शिक्षा विभाग प्रमुख पूर्व विद्यार्थी बलराम भुगाईं, पूर्व डिएसपी एवं पूर्वविद्यार्थी गमबहादुर कुँवर, पूर्व प्रअ तुलसीप्रसाद अधिकारी, पूर्व विद्यार्थी राजेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक हरिप्रसाद भुगार्इंले सञ्चालन रहेको कार्यक्रममा प्रअ कलाधर भुगार्इंले विद्यालयको प्रगति प्रतिवेदन, प्रतिष्ठान कोषाध्यक्ष ओमकार अधिकारीले प्रतिष्ठान गठन गर्नुको उद्देश्यसहित भावी रणनीतिबारे प्रकाश पारेका थिए । शिक्षिका एवं प्रतिष्ठान उपाध्यक्ष संगीता नेपालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।