काठमाडौँ । पछिल्ला दिनहरुमा भ्रष्टाचारका विषय पेचिलो बन्दै गएका छन् । त्यसमध्ये अहिले पुन चर्चामा रहेको छ पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको विषय । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा ‘होल्ड’ गर्दा जलहरी राख्दा भ्रष्टाचार भएको विषयको सत्यतथ्य खुलेको छैन । तर, संसदमा यो विषय पुनः उठेपनि तरंगित छ नेकपा एमाले । त्यसैले एमाले अध्यक्ष केपी ओलीले यस विषयमा प्रतिक्रिया जनाइरहेका हुन्छन् । यता, संसदीय समितिहरुले पनि जलहरी काण्डका विषयमा ध्यान केन्द्रित गरिरहेका छन् ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार पशुपतिनाथमा जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ । तत्कालिन समयको सुनको मूल्य अनुसार हिसाब गर्दा भ्रष्टाचार भएको रकम करिब आठ करोड रुपैयाँ हुन आउँछ । यही विषयको उठान गर्दा नेकपा एमालेले संसद नै अवरुद्ध गरेको थियो । अहिलेपनी एमाले अध्यक्ष केपी ओली जलहरीमा भ्रष्टाचार भएको विषयमा आफु संलग्न नभएको प्रष्टिकरण दिई रहेका छन् । जलहरीमा भ्रष्टाचारको विषय बाहिरिएपछि केपी ओलीलाई सामाजिक सञ्जालमा ट्रोल समेत बनाइएको थियो । ट्रोलमा उनको शरिरै छोपिने गरि सुनका गहना लगाइएको थियो । बुधबार मात्रै एक कार्यक्रममा उनले ट्रोल गर्नेहरुलाई समेत जवाफ दिँदै भनेका छन्, ‘यत्रो सुन त म बोक्न पनि सक्दिनँ ।’
यसरी जलहरी काण्डमा एमाले तरंगित भइरहेकै समय संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निश्कर्ष निकालेको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निश्कर्ष निकालेको हो । समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएपनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरि सत्यतथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयन समेत गरेका थिए । पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गरेका थिए । २०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो । त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषयमा त्यो बेला निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिङ्गमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो । यो विषय केही समय सेलायपनि अहिले संसदमा प्रश्न उठ्ने वित्तिकै एमाले आक्रोशित हुँदा पुनः चर्चामा आउँदै सबैको ध्यान थप केन्द्रित भएको छ । यसमाथिको अनुसन्धान कसरी अघि बढ्छ त्यो समेत चासोको विषय बनेको छ ।




