ओखलढुंगा । कोशी प्रदेशका बिनाविभागीय मन्त्री प्रदिप सुनुवारले चर्चित ओखलढुंगा–रामपुर सडकखण्ड अन्तर्गत मोलुङ–२ मा पर्ने पहिरे खोलाको पुल जसरी पनि बन्ने बताएका छन्।
मन्त्री नियुक्त भएपछि पहिलो पटक जिल्ला आएका मन्त्री सुनुवारले आज (बिहीबार) पत्रकारकाहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्।
तत्कालीन कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णयबाट प्रदेशभरिका विभिन्न आयोजना तथा कार्यक्रमको श्रोत सहमति खारेज गर्ने निर्णय भएसँगै चर्चित पहिरे खोला पुलको समेत ठेक्का प्रकृया स्थगित भएको थियो । सोही विषयमा उनले निर्वमान मन्त्री परिषद्बाट पहिरेको पुल लगायतका प्रदेशभरीका विभिन्न २७ वटा योजना तथा आयोजनाहरु राजनैतिक प्रतिसोधको आधारमा स्थगीत भएको बताए ।
कतिपय ठेक्कापट्टा भईसकेका, सम्झौता भएका र कति त निर्माण सम्पन्नै भएका आयोजनाहरु समेत बजेटमै नराखेको उनले बताए । पहिरे खोला पुल निर्माणको आयोजना गत वर्ष नै बहुवर्षिय योजना अन्तरगत परिसकेको बताउँदै अहिलेको सरकारले निरन्तरता पाए पुन योजना स्थापित गराउने बताए । यदि अहिलेको सरकारले गति प्राप्त गरेन भनेपनि न्यायालय मार्फत भएपनि पुल निर्माणको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
सरकारले पूर्णता पाएपछि समग्र प्रदेशको विकासका लागि निजी क्षेत्रहरु समेतको साझेदारीमा स्थानीय स्रोत साधनहरुको उचित सदुपयोग गर्दै पर्यटन प्रबद्र्धनमा जोड दिईने बताए । त्यस्तै जिल्लाको विकासको विषयमा उनले सके अहिले भैरहेको भन्दा राम्रो गर्ने र नसके यो भन्दा नराम्रो पनि नगर्ने बताए ।
जिल्लाबासीहरुले फलाना सांसद या मन्त्री भएर यस्तो नराम्रो भयो भन्ने परिस्थिती आउन नदिने उनले प्रतिबद्धता समेत ब्यक्त गरे । यस्तै कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानबादी पक्षधरलाई सरकारले पुर्णता पाएपछि बार्ताको माध्ययबाटै यसको समाधान निकालिने पनि सुनुवारले बताए ।