
काठमाडौं । भ्रष्टाचारको मामिलामा जब कुनै ठूला नेता मुछिन्छन् अनि तिनका अन्धसमर्थकहरुले नारा लगाउन थाल्छन् – ‘गर्ने नै हो भने अहिलेसम्मका सबै भ्रष्टाचार काण्डका फाइल खोलियोस् । हैन भने कुनै एउटा व्यक्तिलाई मात्रै बलिको बोको बनाउन पाइन्न ।’
हुन सक्छ यो संयोग नै होला, वैशाख २४ को प्रनिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहनु भएकी सांसद आरजु राणाले भन्नु भयो – ‘सार्वजनिक गर्ने भए, सम्पत्ति विवरण सबैको सार्वजनिक गरौं ।’ अघिल्लो सरकारका प्रमुख शेरबहादुर देउवाले हजारौं आलोचना सहे, तर उनी आफू प्रधानमन्त्री भएको बेला आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।
अहिले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको पर्दाफास भइरहेको छ । यो प्रकरणले संसद पनि तरंगीत भइरहेको छ ।
भ्रष्टाचारमा नाम जोडिन थालेपछि आरजु राणाले भनेकी थिइन –एक नारी अघि बढ्दा अरुलाई असह्य भएको छ । जवाफमा आज तोषिमाले भनिन् – भ्रष्टाचारको कुरा आउँदा के को नारी, के को पुरुष ? भ्रष्टाचारमा लिंग कहाँबाट आयो ?
अर्कोतिर नेकपा एमालेका सचिव टोबहादुर रायमाझी हराएको कुरा संसारलाई थाहा भइसक्यो, तर प्रहरी भने बल्ल हिजो सातदोबाटोस्थित उनको घर पुगेको छ – उनलाई खोज्दै ।
नक्कली शरणार्थी प्रकरणमा थप दुई पक्राउ, संसदमा तरंग, आरजुमाथि तोषिमाको हमला
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित रुपमा गरिएको ठगी प्रकरणमा प्रहरीले थप दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको पक्राउ सूचीमा परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको कुनै सुइको नपाइरहेको बेला विचौलियाको काम गर्ने भनेर रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन् । योसँग यस प्रकरणमा पक्राउ पर्नेको सख्या १० पुगेको छ ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
टोपबहादुर रायमाझीको कुनै अत्तोपत्तो नलागिरहेको बेला प्रहरी भने मंगलबार सातदोबाटोस्थितउनको घर पुगेको छ ।
शरणार्थीका नाममा नेपालीलाई अमेरिका लैजाने भन्दै गरिएको ठगीमा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरु मुछिने क्रम जारी छ ।
दुई दिन अघि सार्वजनिक भएको एउटा अडियोमा नेपाली कांग्रेसका दुई महिला सांसदको नाम पनि मुछिएपछि सत्तारुढ दलमा पनि यो मामिलाले तरंग सिर्जना गरेको छ ।
नक्कली शरणार्थी बनाउने गिरोह र पीडितबीच भएको भनिएको कुराकानीमा कांग्रेसकी सांसद आरजु राणा र मञ्जु खाँणको नाम लिइएको छ ।
यो अडियोको तथ्य खोजी पनि सुरु भएको छ । यसबीच प्रतिनिधिसभाको मंगलबारको बैठकमा समेत नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सरकारकै मानिसहरु मिलेर गरिएको ठगी प्रकरणले राज्यकै शिर निहुरिएको भन्दै सांसदहरुले निष्पक्ष छाननविनको माग गरेका छन् ।
पहिले ओलीले बोले, अहिले पार्टीले नै भन्यो –टोपबहादुरलाई अहिले कारबाही हुँदैन
यस प्रकरणमा मुछिएपछि फरार रहेका नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीलाई कारबाही गर्न सो पार्टीले अहिले हतार नगर्ने निर्णय गरेको छ । जारी अनुसन्धानलाई सघाउने र अदालतको फैसला पछि मात्रै उनकाबारे निर्णय लिइने एमालेले निर्णय गरेको छ ।
डाक्टर आरजुलाई डाक्टर तोषिमाको प्रश्नः महिला हुँ भन्दैमा भ्रष्टाचारमा छुट पाइन्न, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा प्रहरीको तर्फबाट आरजु राणामाथि कुनै प्रकारको दोषारोपण वा सोधपुछ भइसकेको छैन । तर भ्रष्टाचारका मामिलामा आरजुमाथि प्रश्न अक्सर उठ्दै आएको छ ।
२४ वैशाखमा प्रतिनिधिसभा बैठकमा आरजुले एउटा नारी आफ्नै बुँतामा अघि बढ्दा पुरुषहरुलाई असह्य भएको बताएकी थिइन् । आफूमाथि कसैले जति क्रिटिसाइज गरे पनि नडराउने र आफ्नो परिवारको सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको उनले बताएकी थिइन् ।
सबैं सांसदहरुको सम्पत्ति सार्वजनिक गर्न पनि आरजुले माग गरेकी थिइन् । भ्रष्टाचारको मामिलामा आरजुले महिला कार्डको सहारा लिएर विचार राखेपछि प्रतिवादमा तोषिमा उत्रिइन् । तोषिमाले भनिन् – भ्रष्टाचारमा लिंग कहाँ जोडिएको हुन्छ ?
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणले मंगलबार राष्ट्रियसभामा पनि राम्रै स्थान पाएको छ ।