
काठमाडाैँ । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन बी टु बी अर्थात व्यापारबाट व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो । यसअघि गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला दुई देशका सरकारबिच (जिटुजी) सम्झौता भएको थियो । निगम र आइओसीको संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गरिने छ । गत जेठमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो ।
अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघका पदाधिकारीहरुका बीच घरजग्गा कारोबारलाई प्रबर्द्धन गरी अर्थतन्त्र चलायमान गर्ने विषयमा छलफल भएको छ । धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी मुख्यत ५ वटा विषयमा छलफल भएको हो । महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सूत्र एउटै हुनुपर्ने, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने तर्क राखेको थियो ।
माटोको बिक्री केन्द्र सञ्चालनमा
माटोको बिक्री केन्द्र बुढानीलकण्ठको देउवाचोकमा सञ्चालनमा आएको छ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा थप योगदान पुर्याउने उद्देश्यले माटो ब्रान्डको सातौँ स्टोर सञ्चालनमा आएको हो । माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नेपाली र रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ । काठमाडौंको बानेश्वर, नक्साल, नारायणचौर, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोर सञ्चालनमा रहेका छन । माटोले अनलाइन अर्डरअनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ ।
विराटनगरमा लक्ष्यको ८१ प्रतिशत राजश्व संकलन
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष०८०÷८१ को पहिलो महिनामा तोकिएको लक्ष्यको ८१ प्रतिशत भन्सार राजस्व संकलन गरेको छ । कार्यालयलाई आर्थिक वर्ष ०८०÷८१ को साउन महिनाका लागि ३ अर्ब ४९ करोड ७६ लाख लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । सीमानाकामा गरिएको कर्डाइका कारण आर्थिक गतिविधिमा आएको प्रगतिका कारण केही राजस्व संकलन बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष०७९÷८० मा तोकिएको लक्ष्यको ५५ प्रतिशतमात्र भंसार राजस्व संकलन गरेको थियो ।
नेप्सेमा पुनः गिरावट
अघिल्ला दुई दिन बढेको सेयर बजार बिहीबार भने ३१.५२ अंक घटेको छ । यससँगै परिसूचक नेप्से २०१३ अंकमा कायम भएको छ । यसअघि बुधबार २९ र मंगलबार १७ अंकले नेप्से बढेको थियो । कुल १ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार रकम हिजोको तुलनामा ४ करोड बढी हो । १७ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रहृयो । बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंक घटेका छन ।