
- प्रमित राई
भोजपुर । पहाडी क्षेत्रमा अन्य खेतीको तुलनामा खोल्साको कालो सुन भनेर चिनिने अलैची राम्रो आन्दानीको श्रोत बनेसँगै कृषकहरु अलैची खेती विस्तार अभियानमा लागेका छन् ।
मेहनत गर्न सकेमा गर्जो टार्ने मात्र नभई पैसा कमाउन विदेशीनु नपर्ने अलैची किसानको रोजाइमा पर्न थालेको छ । वर्षौँदेखि बाँझो रहेको जग्गा नै अहिले कृषकको मुख्य आम्दनीको स्रोत बन्न थालेको छ ।
अरुण गाउँपालिकाका २ सो¥याङका गुणराज राईले धान फल्दै गरेको खेत नै मासेर अलैची खेतीको विस्तार गरेका छन् । परम्परागत खेती धानबाट आर्थिक लाभ नहुने देखिएपछि उनी अलैँची खेतितर्फ आकर्षित बनेका हुन् ।
त्यस्तै, षडानन्द नगरपालिका–१३ का तुलसीराम तामाङले पनि धान, मकै फल्ने वारी मासेर अलँैची लगाएका छन् । वैदेशीक रोजगारको सिलसिलामा मलेसिया पुगेका टेम्केमैयुङ गाउँपालिकाका भद्रमान राई पनि १० वर्ष पछि वैदेशिक रोजगारबाट फर्किएर अलैची खेतीमा लागि परेका छन् ।
उनी विदेश हुदा वाँझो भएको २० रोपनी जग्गामा अहिले अलैची लगाएर राम्रो आम्दानी लिइरहेको बताउछन् ।
अलैची खेती भोजपुर जिल्लाका कृषकको भरपर्दो आम्दानीको स्रोत बनेको छ । अन्न नफल्ने भिरालो खोल्सा र अन्य वाली नलाग्ने पाखा भित्तामा पनि उत्पादन भई राम्रो आम्दानी हुने भएकाले किसानहरु यसको खेती विस्तारमा लागेका हुन ।
कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेति विस्तार गर्न सहयोग गरेपछि कृषक झन दंग परेका छन् ।
भोजपुरको ६ वटा स्थानीय तहका ३० वटा वडामा एक हजार ६ हेक्टरमा परियोजनाले चक्लावन्दी, क्षेत्र विस्तार, अलैचीलाइ चाहिने कृषि यन्त्र तथा उपकरण लागत साझेदारीमा वितरण र पुर्वधार विकास कार्यक्रम गर्दै आएको छ ।
अलैचीको गुणस्तर उकास्न अलैची सुकाउने भट्टी र प्राविधिक सहयोग गर्दै आएको छ । गत आर्थिक वर्षमा भोजपुरमा ७ सय २० हेक्टरमा लगाएको अलैचीबाट किसानले करिव ९ करोड आम्दानी गरेको बताइएको छ ।