पुँजीगत खर्चमा प्रधानमन्त्रीको असन्तुष्टि, काठमाडौंमा ७० प्रतिशत खुला दूध

पुँजीगत खर्चमा प्रधानमन्त्रीको असन्तुष्टि, काठमाडौंमा ७० प्रतिशत खुला दूध

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास बजेट निकै कम खर्च भएकोमा असन्तुष्टि जनाएका छन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विकास समस्या समाधान समितिको सोमबार बसेको ५१ औं बैठकमा विकास निर्माणको क्षेत्रमा गएको वर्ष अपेक्षाअनुसार काम नभएको भन्दै असन्तुष्टि जनाएका हुन । गत आर्थिक वर्ष विकास बजेट ६१.५ प्रतिशत मात्र खर्च भएको थियो । प्रधानमन्त्री प्रचण्डले विकास बजेट निकै कम खर्च हुने समस्याको समाधान निकाल्नुको विकल्प नरहेको भन्दै गत वर्षको अनुभवबाट पाठ सिकेर यो आर्थिक वर्ष नयाँ कार्ययोजनासहित कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालय र आयोजनालाई निर्देशन दिएका छन् । उनले विकासको मोडेलमा व्यापक बहस र रूपान्तरण आवश्यक रहेको पनि बताएका छन ।

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन

अब उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो । उद्योग बाहेक कर्जाको हकमा भने एक करोड रुपैयाँसम्म विद्यमान सीमा भने यथावत राखिएको छ । यस्तै, फर्म, संस्था र कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौंमा ७० प्रतिशत खुला दूध बिक्री

काठमाडौं महानगरपालिकाभित्र ७० प्रतिशत दूध खुला रुपमा बेचिने गरेको पाइएको छ । महानगरले गरेको बजार अनुगमनको क्रममा यस्तो तथ्यांक फेला परेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । विभागका अनुसार महानगरले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिलाई महानगरले यस्तो तथ्यांक उपलब्ध गराएको हो । रबरले बाँधेर प्लास्टिकको पोकामा डेरीबाट बेचिने खुला दूधमा हुने चिल्लो पदार्थको मात्रा वा अन्य आवश्यक गुणस्तर कति छ भन्ने थाहा नहुने भएकोले कडाइ सुरु गरिएको महानगरले जनाएको छ । खुला दूध बाहेक अन्य प्याकेजिङ गरेर लेभल राखिएको दूधहरु पनि सडक किनारामा अव्यवस्थित ढंगले बेच्ने गरेको पाईएको छ ।

तत्काल स्टार्टअप नीति ल्याउन आवश्यक : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन । सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए । उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवद्र्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे । सरकारले स्टार्टअप सम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको र सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष ढकालले बताए ।

नेपालमा भारतीय मालवाहक गाडी रोक लगाउन माग

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् । उनीहरुले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन,राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो समब्न्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरुमा संशोधन गर्न माग गरेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *