
- दानबहादुर बुढा
मुगु । पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढाथापामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलकाे रिहाइ माग गर्दै विराेध प्रदर्शन भएकाे छ ।
बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र वडाध्यक्ष रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा आइतबार जिल्ला प्रशासन कार्यालय मुगुमा मुद्दा दर्ता भएको छ । उनीहरू पक्राउ परेको विषयमामा नेकपा एमाले, मुगुले विरोध प्रदर्शन गरेको हाे ।
शनिबार दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएकाे थियाे । सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध प्रदर्शन भएकाे हाे ।
शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढाथापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।