काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकुको शिविरमा भ्रष्टाचार छानबिन गरी दोषी देखिएमा आफू जेल जान तयार रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद ज्ञानबहादुर साहीकोे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले लडाकुको शिविरमा भ्रष्टाचार गरेको भन्ने आरोप कपोकल्पित र पूर्वाग्रही भएको जिकिर गरे । उनले सो शिविरमा भ्रष्टाचार भएको विषयमा कसैले दिएको उजुरीमा दोषी देखिएमा आफू जेल जान समेत तयार रहेको बताएका हुन् ।
पूर्वलडाकु शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री रहेको र सरकारले रुजु गरिसकेको विषयलाई राजनीतिक आग्रह, पूर्वाग्रहका साथ बारम्बार उठाउने गरेको भन्दै आफैँ अश्चर्यमा परेको बताए ।
‘पूर्वमाओवादी लडाकुलाई राज्य कोषबाट प्रदान गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपको लागि आरोप मात्रै हो भन्ने कुरा जोड दिएर भन्न चाहन्छु,’ उनले भने, ‘त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टेमेनमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टेनमेनको भौतिक पूर्वाधार र यो योद्धाहरुको रासान पानीको निम्ति भनेर राज्यबाट दिएको रकम र त्यसको अडिट त्यसको हिसाव किताव र त्यहाँ कोकोले लिए भन्ने सबै रेकर्ड छ । त्यतिबेला गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो । डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरु समेतको रुजु गरेपछि त्यो पटाक्ष भइसकेको कुरा हो । यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहकासाथ उठाउने गरिएको देख्दा म आफैँ आश्चर्यमा पर्ने गरेको छु ।’
इतिहासको त्यो परिघटनाले देशलाई शान्तिको नयाँ युगमा ल्याउन मद्दत गरेको बताउँदै उनले क्यानटन्मेनमा हजारौं लडाकुहरु राखेर देशलाई, शान्तिलाई लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत समेत गरेको बताए । उनले भने, ‘इतिहासको त्यस्तो परिघटना, जसले देशलाई शान्तिको नयाँ युगमा ल्याउन मद्दत ग¥यो । इतिहासको त्यो संवेदनशील घडी, जतिबेला क्यानटन्मेनमा हजारौं लडाकुहरु राखेर देशलाई शान्तिलाई लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत ग¥यो । त्यो रकम राज्यबाट दियो । त्यो अडिट भएर टुङ्गो लागि सकेको विषय पटक–पटक राजनीतिक आग्रहको रुपमा ल्याइएको भन्ने मेरो बुझाई छ । यदि त्यस्तो केही छ छानबिन गर्नुपर्छ भने मैले पार्टीको घोषणा पत्रमा २०४८ सालदेखिको सबै घटनाहरु र उच्च पदस्थ अधिकारीहरुको सम्पति छानबिनको सम्बन्धमा वा भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न तयार छु । हामी सबै राजनीतिक तहमा एउटा संकल्पको साथ जाँदा सबै चिज छानबिन गर्न सकिन्छ । मुलुकमा भ्रष्टाचारको नयाँ उन्मुक्तिको युग शुरु गर्न सकिन्छ । क्यानटन्मेनको कुरा कपोकल्पित र पूर्वाग्राही छ भन्ने दृढ विस्वास छ । फेरी पनि कसैले दिएको उजुरी कै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।’
उनले सबै राजनीतिक तहमा एउटा संकल्पको साथ जाँदा अहिलेसम्म भएका भ्रष्टाचारको छानबिन गर्न सकिने भन्दै छानबिन गर्नसके मुलुकमा भ्रष्टाचारको नयाँ उन्मुक्तिको युग शुरु गर्न सकिनेमा जोड दिए ।




