पूर्वसांसद गंगा चौधरीद्वारा एमाले छाडेर स्वतन्त्र उठ्ने घोषणा


आश्विन २१,
काठमाडौँ — नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरी सत्गौवाले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेले दाङ १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएपछि गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । 
दाङ- १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । ‘मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छु । दाङ- १ बाट म स्वतन्त्र उम्मेदारी दिने हो,’ उनले भनिन्, ‘पार्टीले बाहिरको मान्छेलाई उम्मेदवार बनाउने भएकाले मान्दैनौं । उहाँ (शान्ता चौधरी)को क्षेत्र पनि यो भएको भए र उहाँलाई नै दिएको भए त मान्थ्यौं तर बाहिरको मान्छेलाई यहाँ उम्मेदवार बनाएपछि कसको मनले मान्छ ?’
असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताइन् ।
शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ । दाङ- २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । दाङ- १ बाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *