हेमजा । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुखमा सहप्राध्यापक डा. यमनाथ तिमिल्सिना नियुक्त भएका छन् । बुधबार विभागमा आयोजित समारोहमा उनले पदभार ग्रहण गरे ।
सहायक क्याम्पस प्रमुख प्रा.लालबहादुर कुँवरले तिमिल्सिनाले विभागलाई थप क्रियाशील बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
निवर्तमान विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले आफू नेतृत्वमा रहँदाका अधुरा कार्य तिमिल्सिनाले पूरा गर्ने विश्वास लिँदै नेपाली भाषा उन्नयनमा विभागको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे ।
कार्यक्रममा प्राध्यापक संघ सभापति डा. लक्ष्मीशरण अधिकारी, विभागीय सदस्य डा. पुण्यप्रसाद शर्मालगायतले पनि धारणा राखे ।
नवनियुक्त विभागीय प्रमुख डा. तिमिल्सिनाले सबैलाई समेटेर विभाग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले पठनपाठन तथा भाषिक अनुसन्धानलाई विशेष महत्व दिन स्पष्ट पारे ।
२०५१ सालबाट त्रिविमा आवद्ध तिमिल्सिना तीनवर्षे कार्यकालका लागि प्रमुखमा नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइ पूर्वसभापति तथा प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
तिमिल्सिनाका नेपाली भाषाको उत्पति र विकास, भाषाविज्ञान, ऐतिहासिक भाषाविज्ञान, भाषिकाको सैद्धान्तिक विश्लेषण र भाषिका निधारणलगायत भाषाविज्ञानसँग सम्बन्धित १० कृति प्रकाशित छन् ।