पेट्रोलियम पदार्थको चुहावट रोकिने आशा, सवारी साधनमा ५२ अर्ब कर्जा प्रवाह

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने बताएका छन् । शनिबारदेखि नेपाल आयल निगम वीरगञ्ज शाखाले पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्दै बिक्री वितरणलाई व्यवस्थित बनाउने बताए । त्यस्तै उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेका बताएका छन् । उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जनाए । वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने भन्दै चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने मन्त्री रिजालको दाबी छ ।

यातायातका साधन र पार्टपुर्जा खरिदमा ५२ अर्ब कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले यातायातका साधन र तिनका पार्टपुर्जा खरिदका लागि करिब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म यातायात साधन उत्पादकले उत्पादन र फिटिङ (एसेम्बल) का लागि ५१ अर्ब ९० करोड १२ लाख रुपैयाँ बैंक ऋण लिएका छन् । उक्त कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ६ प्रतिशत अर्थात ३ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ कम भएको राष्ट्र बैंकले जनाएको छ । उक्त कर्जा सम्बन्धित क्षेत्रमा प्रयोग गरिने उपकरण निर्माण तथा फिटिङका लागि लिने गरेको यातायात व्यवसायीले भनाई छ । यसमा अटो, एभिएसन, जल यातायात साधन पर्ने व्यवसायीहरुको भनाई छ ।

दुई वर्षसम्म निष्क्रिय रहेका गुगल अकाउन्ट बन्द हुँदै

गुगलले दुई वर्षसम्म संचालनमा नआएका गुगल (जीमेल) अकाउन्ट सधैंका लागि बन्द गर्ने भएको छ । कम्पनीले ’इनएक्टिभ अकाउन्ट पोलिसी’ बारे सबै जीमेल प्रयोगकर्ताहरूलाई ईमेल पठाउँदै निष्क्रिय अकाउन्ट बन्द हुने उल्लेख गरेको छ । अब पछिल्लो दुई वर्षयता एकपटक पनि साइन ईन नभएका गुगल अकाउन्ट स्वतः निष्क्रिय हुने भएका छन् । त्यस्तै, कम्पनीले डिलिट भएका जीमेल अकाउन्ट पुनः सिर्जना नहुने गरी बन्द गर्न लागेको जनाएको छ । गुगलले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै उक्त नियम पनि ल्याएको थियो । गुगलले त्यस बखत समयमा दुई वर्षसम्म प्रयोगमा नआएका जिमेल अकाउन्टमा भएका डेटामात्र डिलिट हुने भनेको थियो । तर अहिले भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने भएको छ ।

शनिबारे मेलामा उपभोक्ताको आकर्षण

पछिल्लो समय चितवनमा शुरू भएको शनिबारे मेलामा उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ । उद्योग संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको छ । स्थानीय उद्यमीहरुले उत्पादन गरेका उस्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवर्द्धक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागनफ्रुट लगायतका प्रदर्शनीमा राखिएको छ । स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकारहरुमा धेरैजसो प्राङ्गारिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको संघको दाबी छ । उपभोग्य वस्तुको प्रोत्साहन र प्रवद्र्धन गर्न मेला गरिएको आयोजकको भनाई छ । मेलामा १५ हजारभन्दा बढीले अवलोकन गर्दा ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको संघले जनाएको छ ।

कोरोना बीमाको बाँकी दाबी भुक्तानी हुने

नेपाल बीमा प्राधिकरणले कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे अर्थ मन्त्रालयसँग पहल भइरहेको बताएको छ । काठमाडौँमा भएको निर्जीवन बीमा कम्पनीहरुसँगको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो बताएका हुन् । लामो समयदेखि बीमा कम्पनीहरूले सरकारले दिनु पर्ने रकम नदिएको भन्दै कोरोना बीमाको बाँकी दाबी भुक्तानी हुन सकेको थिएन । अब भने सरकारबाट रकम आएपछि विगतमा झैं बीमा कम्पनीहरुमार्फत भुक्तानी हुने अध्यक्ष सिलवालको भनाई छ । तर अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे पहल भइरहेको बताए पनि अर्थ मन्त्रालयले भने यसबारे कुनै निर्णय गरेको छैन । बीमा प्राधिकरणकाअनुसार अहिले पनि करिब १ लाख बिमितको साढे ९ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ ।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top