पोखराको राष्ट्रिय माविको हीरक महोत्सव

पोखराको राष्ट्रिय माविको हीरक महोत्सव

पोखरा । राष्ट्रिय मावि, पोखराको हीरक महोत्सव बुधबारदेखि सुरु भएको छ । सो अवसरमा विद्यालय शिलान्यासस्थल पोखरा–३, नदीपुर नारायणस्थानबाट प्रभातफेरी भयो । प्रभातफेरी पालिखेचोक, तेर्सापट्टी, नालामुख, भैरवटोल, विन्ध्यवासिनी, बागबजार हुँदै विद्यालय पुगी शुभारम्भ समारोहमा परिणत भयो ।

समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वरोजगारमूलक शिक्षामा जोड दिए । उनले युवापंक्तिलाई विदेशीमोह त्यागी जन्मभूमिमै सेवा गर्न आग्रह गरे । राज्यले विद्यालय शिक्षामा ठूलो लगानी गरेको बताउँदै उनले उक्त लगानी चुक्ता गर्न स्वदेशमै रोजगारी गर्न नागरिक तयार हुनुपर्ने जनाए । उनले प्रदेश सरकारले शिक्षामा लगानी बढाउने जनाउँदै अहिले शिक्षा व्यवस्थापन संघ, प्रदेश तथा स्थानीय कुन सरकारले लिने भन्नेमा अन्योलता रहेको धारणा राखे । उच्च शिक्षा अध्ययन तथा रोजगारीका लागि विदेश जाने र पठाउने मानसिकता त्यागे नेपाल समृद्ध बन्ने उनको भनाइ छ । शिक्षा सेवा आयोग उत्तीर्ण व्यक्तिलाई शिक्षाका विविध पक्षबारे जानकारी दिने उद्देश्यले प्रदेश सरकारले १ महिने अभिमुखीकरण सञ्चालन गरिरहेको बताए ।

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले शिक्षा ज्ञान, सीप र प्रमाणपत्रको त्रिवेणी भएको उल्लेख गरे । उनले नेपाल सरकारले शिक्षाबाट हात झिक्दै गएको पछिल्लो प्रमाणमा रुपमा प्रस्तावित विद्यालय शिक्षा ऐन रहेको जनाउँदै उक्त ऐनलाई समयमै परिमार्जन गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रमबीच विद्यालय संस्थापक सञ्चालक समितिका पदाधिकारीका पारिवारिक प्रतिनिधिलाई दोसल्ला साथै सम्मानपत्रले अभिनन्दन गरियो । अभिनन्दित हुनेमा मेजर जनरल स्व. धनशमशेर जबराका प्रतिनिधि, सेक्रेटरी स्व. पं ऋषिकेशव पराजुलीका छोरा कुसुमकेशव पराजुली, सहायक सेक्रेटरी स्व. सुन्दरप्रसाद मरासिनीका बुहारी भोलादेवी मर्सानी, कोषाध्यक्ष स्व. प्रेमराज मुल्मीका छोरा आनन्दराज मुल्मी, सदस्य स्व. दयाशंकर पालिखेका प्रतिनिधि सुनयना पालिखे छन् ।

त्यसैगरी सदस्य स्व. श्यामप्रसाद कर्माचार्यका छोरा ईश्वर कर्माचार्य, जग्गादाता स्व. रत्नाखर पराजुली वंशज प्रतिनिधि विश्वगोपाल पराजुली (अध्यक्ष साठीघरे पराजुली समाज) लाई पनि सम्मान गरियो ।

सम्मानितको तर्फबाट आनन्दराज मुल्मी, भूपू अध्यक्षबाट रामराज रेग्मी, पोखरा १ का अध्यक्ष साहारा प्रधान लगायतले शिक्षामा राज्यको लगानी ठुलो भए पनि प्रतिफल न्यून रहेको बताए । उनीहरुले विद्यालय तत्कालीन गण्डकी क्षेत्रकै शिक्षाको ज्योति भएको तथा सुरुआतिकालमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको स्मरण गरे ।
मूल आयोजक समिति अध्यक्ष रामविक्रम राणाले हीरक महोत्सवअन्तर्गत १ वषेका कार्यक्रम तय भइसकेको स्पष्ट पार्दै सरोकारवाला सबैको प्रयासमा महोत्सव सफल बन्ने विश्वास लिए । उनले स्मारिक गुणात्मक तथा ओझिलो बनाउन सबैले भूमिका खेल्नुपर्ने औंल्याए ।

२००६ मंसिर २० मा पब्लिक मिडिल स्कुल नामबाट स्थापित विद्यालय हालको राष्ट्रिय मावि हो

विद्यालय प्रधानाधयापक ईश्वरीप्रसाद सापकोटाले विद्यालयमा शौचालय तथा प्रशासनिक भवन जीर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले कक्षाकोठा प्रविधिमैत्री बनाउन, एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्य प्राविधिकको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमबीच स्थानीय टीकाराम अधिकारीले ३ लाखको अक्षयकोष घोषणा गरे । विद्यार्थी दीया गुरुङ, विजय विक, आयुषा नेपाली, करिना सुनार, सुदीप गुरुङ नेतृत्वका समूहले विभिन्न प्रस्तुति राखे ।

त्यस्तै, रवीन्द्र माकाजुद्वारा लिखित ‘शिक्षासेवी प्रसाद पन्त’ विमोचन गरियो । सो अवसरमा विभिन्न पुरस्कारसमेत वितरण भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राणाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद पराजुलीले स्वागत र सहायक प्रअ शिवभक्त देवकोटाले कार्यक्रम सञ्चालन गरे ।

२००६ मंसिर २० मा पब्लिक मिडिल स्कुल नामबाट स्थापित विद्यालय हालको राष्ट्रिय मावि हो । विद्यालयले २००७ सालमा स्थायी स्वीकृति प्राप्त गरेको थियो । नदीपुरमा भवनको जग खन्ने क्रममा जमिन भासिएपछि विद्यालय हाल पोखरा–१, पुरानो टुँडीखेलमा सारिएको हो ।

विद्यालय भवन निर्माणमा तत्कालीन सरकार तथा अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता भएकोमा २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेका थिए ।
महोत्सवअन्तर्गत पुनर्मिलन समारोह, स्मारिका प्रकाशन, स्वास्थ्य शिविर, कला साहित्य र खेलकुदका विभिन्न जिल्लास्तरीय प्रतियोगिता मुख्यरुपमा समेटिने विद्यालयले जनाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *