पोखरा १५ मा स्वास्थ्य शिविर, महिलाको उल्लेख्य सहभागिता

पोखरा १५ मा स्वास्थ्य शिविर, महिलाको उल्लेख्य सहभागिता

पोखरा । पोखरा वडा १५ कार्यालय तथा सहरी स्वास्थ्य केन्द्र–१५ ले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय जना लाभान्वित भएका छन् । राइट फर चिल्ड्रेनको सहयोगमा भएको शिविरमा वडाका प्रजनन् क्षमताका महिलादेखि ८१ वर्षीया वृद्धासम्मले जाँच गराई लाभ लिएको वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महिलामा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोगको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न पनि शिविर उपयोगी भएको विश्वास व्यक्त गरे ।

‘सचेतनाको अभावले क्यान्सर महामारीका रुपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्न सके यसले ठूलो जनधनको क्षति रोक्ने भएकाले यस्ता अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ,’ उनले भने ।

वडाध्यक्ष बानियाँले जटिल बनिरहेको पाठेघर क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । ‘क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता सदा झैं रहनेछ,’ उनले भने । सामान्य अवस्थालाई निशुल्क औषधि वितरणको व्यवस्था गरियो भने जटिल बिरामीहरुलाई वडाबाटै विभिन्न अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको सहयोगी संस्था राइट फर चिल्ड्रेनकी प्रोजेक्ट म्यानेजर पशुपति चौधरीले बताइन् । शिविरमा शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, हरियोखर्क अस्पताल र गण्डकी अस्पतालका चिकित्सकले जाँच गरेका थिए ।

छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुने गर्छ । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० वर्षको उमेरपछि हुन्छ । यो रोग सुरु हुँदा विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ । पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलिन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *