प्रचण्डको त्यो मन्त्रणा, माधव नेपालको चर्को आवाज गायब

काठमाडौँ । सत्तारुढ गठबन्धनमा पछिल्लो समय दरार उत्पन्न हुँदै गएको छ । आगामी आर्थिक वर्षको वजेट सार्वजनिक भएपछि बजेटकै सन्दर्भलाई लिएर सत्ता गठबन्धन दलहरु नै चिढिँदै गएका छन् । आफ्नो अनुकुलतामा काम गर्न नपाएपछि गठबन्धन दलहरु एकअर्काप्रति चिढिदै गएका हुन् । तर आफू अनुकुल हुँदा जस्तोसुकै प्रवृत्तिको पनि ढाकछोप गर्ने र अनुकुल नहुँदा धारे हात लाउने प्रवृत्ति भने कायमै रहेको छ ।

गत पुस ११ गते नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई महिना नबित्दै एमालेको साथ छाडेर कांग्रेससहितका गठबन्धनसँग लहसिएका थिए । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा चुनावी गठबन्धन दलहरु फेरि एकै ठाउँमा आए । जतिबेला संसदमा १० सिट मात्रै जितेर ३ प्रतिशत थ्रेस होल्डसमेत कटाउन नसकेको नेकपा एकीकृत समाजवादीले नै सरकारमा ठूलो भाग खोज्दा महिनौंसम्म सरकार विस्तार हुन सकेको थिएन । अन्ततः एउटा मन्त्री लिएर नेकपा एस सरकारमा सहभागी भयो । आफै सहभागी भएको सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । तर आफैले ल्याएको बजेटको विरोधमा समाजवादीले अभिब्यक्ति दिइ रह्यो । संसदमा नेकपा एसका सांसदहरुले मात्र होइन, पार्टी अध्यक्ष माधव नेपालले समेत बजेट नसच्चाए सरकार ढल्ने चेतावनी दिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन तोडेरे पुरानै क्याम्पमा फर्किँदा नेता नेपालले नै यो गठबन्धन पाँच वर्ष होइन, कैंयौं वर्षसम्म जाने अभिब्यक्ति दिएका थिए । सत्ता सहयात्री दलले नै सरकार ढल्ने अभिब्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार विहानै नेता नेपाललाई बालुवाटार बोलाएर मन्त्रणा गरे । नेपालसहितका समाजवादीका सांसदहरुलाई बोलाएर प्रचण्डले बजेटको विरोध नगर्न आग्रह गरे । सोमवार विहान प्रचण्डको मन्त्रणा लगत्तै दिउँसो माधव नेपालको बोली फेरियो । पार्टी मुख्यालय आलोकनगरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले गठबन्धनकाबीचका धाराहरुमा मतान्तर हुनु स्वभाविक भए पनि वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए ।

सत्ता सहयात्री दल नेकपा एस मात्र होइन, अन्य सहयात्री दलका सांसदहरुले पनि बजेटको आलोचना गरिरहेका छन् । वर्तमान शीर्ष राजनीतिक दलहरुका नेताहरु आफू अनुकुलको ब्याख्या विश्लेषण गर्न माहिर छन् । यस्तै प्रवृत्तिकै कारण पुराना दलहरुप्रति नागरिकहरु आजित बनेको परिणाम पछिल्लो निर्वाचनले स्पष्ट गरिसक्दा पनि नेताहरुको चेत भने अझै खुलेको छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top