
काठमाडौँ । राष्ट्रपति निर्वाचनअघि भएको सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । तर पछिल्लो समय कांग्रेसभित्रको कचिङगल बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले गठबन्धनभित्र पनि अर्को मोर्चा बनाउन लागेका छन् ।
पुस ११ गते नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर दुई महिना नपुग्दै प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन गठबन्धन बदलेर चुनावी गठबन्धनमै फर्किए । नयाँ गठबन्धनमा आए लगत्तै प्रचण्डले गठबन्धनमा आफू बलियो बन्ने रणनीति अनुसार समाजवादी मोर्चा बनाउने घोषणा गरेका थिए । नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी (नेसपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चा बनाउने तयारी गरे पनि त्यतिबेला प्रचण्डको प्रयास सफल भएन । प्रधानमन्त्रीको हैसियतमा पहिलो विदेश भ्रमण भारतलाई नै रोजेका प्रचण्डले जेठ १७ देखि २० गते भारत भ्रमण गरे । तर सत्ता सहयात्री प्रमुख घटक नेपाली कांग्रेसको कचिङ्गलका कारण फेरि सत्ता संकट उत्पन्न भएको छ । यहि संकटकाबीच उपचारका लागि भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर पुगेका छन् । देउवा सिंगापुर पुग्दा यता प्रधानमन्त्री प्रचण्डले भने आफूलाई बलियो बनाउन खातिर समाजवादी मोर्चाको घोषणा गर्न लागेका छन् ।
सत्ता सहयात्री दलहरुबाट नै सरकार ढाल्ने खेल भएको केही दिनयता प्रचण्डले भ्रष्टाचारको कारबाहीमा आफू नझुक्ने बरु सरकार ढले पनि ढलोस् भन्ने अभिब्यक्ति समेत दिँदै आएका छन् । सरकारले ल्याएको बजेटकै सन्दर्भमा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले समेत प्रचण्डलाई सरकार ढाल्नेसमेतको चेतावनी दिएपछि प्रचण्डले हतार हतार मोर्चा घोषणा गर्न लागेका हुन् । सदन र सरकारबाट एक साथ दबाब दिने रणनीति स्वरुप संसद बाहिर रहेका नेत्रविक्रम चन्द ‘विप्लव’लाई समेत प्रचण्डले आफ्नो मोर्चामा जोड्न लागेका छन् । माओवादी केन्द्र, नेकपा एस, जसपा, नेकपा विप्लव, नेपाल समाजवादी पार्टीको एउटै ‘समाजवादी मोर्चा’ घोषणा गर्न लागिएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार मात्रै दाङमा आयोजित एक कार्यक्रममा बोल्दै घोषणा गर्न लागिएको मोर्चामा बामदेव गौतमको समूहसमेत रहने बताएका थिए ।
सत्ता टिकाउनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रचण्डले गठबन्धनभित्र आफ्नो छुट्टै मोर्चा बनाएर संसदमा बलियो उपस्थिति जनाउन लागेका छन् । यो मोर्चा घोषणापछि प्रचण्डले संसदमा ५४ सिटको नेतृत्व गर्नेछन् । सम्भवतः शुक्रबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरिएको छ ।