
- सितल रिजाल
काठमाडौँ । गत मंसिरको निर्वाचन अगाडी र सरकार गठनको बेलासम्म पनि नेकपा एमाले तत्कालीन ५ दलीय गठबन्धन भत्काउने मुख्य योजनामा काम गरिरहेको थियो । फलस्वरुप सरकार गठनका बेला गठबन्धन भत्काउन सफल भएपनि एमाले त्यसलाई बचाएर निरन्तरता दिन असफल बन्यो । फेरी पनि उसले बर्तमान गठबन्धन भत्काउने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताच्यूत गरेर बदला लिने विषयलाई प्राथामिकतामा राख्दै आएको छ । यस्तोमा तत्काल एमालेका लागि सत्ता उलटफेर कति सहज छ त ?
गएको पुस १० गते अप्रत्याशित रुपमा सत्तामा फर्किएको नेकपा एमाले २ महिना पुग्दा नपुग्दै बाहिरिन बाध्य भयो । राष्ट्रपति निर्वाचनको सम्मुखमा अचानक बदलिएको समिकरणसँगै एमालेले अनपेक्षीत नोक्सानी व्यहोर्नु पर्यो । आफ्नै जोडबलमा प्रधानमन्त्री बनेका प्रचण्ड निर्वाचन ताकाकै गठबन्धनमा फर्किपछि एमाले केन्द्र सरकारसँगै प्रदेशहरुमा पनि प्रतिपक्षको भुमिकामा खुम्चिन पुग्यो । प्रधानमन्त्री बनाउन भुमिका खेलेको पार्टीलाई धोका दिएर राष्ट्रिय सहमतिको नारा अघि सार्दै कांग्रेससँग हात मिलाउन पुगेपछि प्रचण्डसँग एमाले रुष्ट थियो । अनपेक्षित रुपमा सत्ता गुमाएको चोट एमालेले यसै बिर्सने अवस्था थिएन । एमाले नेताहरुले बारम्बार उपयुक्त समयमा प्रचण्डसँग हिसाबकिताव गर्ने चेतावनी दिँदै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनकै दिन कांग्रेससँग सहकार्य गर्न नसकिने कसम नखाएको अभिव्यक्ति दिएर सरकार परिवर्तनमा एमालेको प्रयास कायमै रहने संकेत गरेका थिए ।
एमाले अध्यक्ष ओली सहितका शीर्ष नेताहरुले अहिले पनि बर्तमान सत्ता गठबन्धन धेरै लामो समय नजाने टिप्पणी गरिरहेको सुनिन्छ । एमाले नेताहरु कसरी हुन्छ प्रचण्डलाई सत्ताच्यूत गरेर पालोको पैँचो तिर्ने दाउमा छन् । त्यसैले संसद भित्र होस या बाहिर एमाले नेताहरु आफुले चाहे सरकार आजको भोलि परिवर्तन हुने अभिव्यक्ति दिँदै हिडिरहेका छन् ।
यसैबिच राप्रपा लगाएतका अन्य साना राजनीतिक दलहरुले वर्तमान परिवेशमा एमाले–कांग्रेसको सहकार्य नै उत्तम विकल्पको रुपमा अगाडी सारेका थिए । यता, सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सार्वजनीक रुपमै सरकारको कामप्रति औँलो उठाउँदै गठबन्धन फेरीन सक्ने चेतावनी दिइरहेका छन् । यस बिचमा कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा रहेका बेला कांग्रेस र एमालेका एक तहका नेताहरु सरकार परिवर्तनका लागि छलफलमा जुटेको चर्चा पनि चुलिएको थियो । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुको अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालिरहेका थिए । सोहि कारण उनले कांग्रेस र एमाले दुवैलाई दबाबमा राख्ने ध्ययका साथ समाजवादी मोर्चा गठन गरेका थिए । प्रचण्डका यस्ता कदमले कांग्रेस–एमाले मिलनविन्दुलाई पर धकेलिदिएको छ । सहजै सरकार परिवर्तन सम्भव नभएको बुझेका ओली यतिबेला भने एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताउन थालेका छन् ।
प्रचण्डले आफु अनुकुलको वातावरण निर्माण गर्न गठबन्धन भित्रै अर्को गठबन्धन निर्माण गर्ने देखि कम्युनिष्ट धुव्रिकरणको संकेत गरेपछि तत्काल सरकार परिवर्तन गर्न एमाले–कांग्रेसमा दबाब बढाएको तर्कहरु पनि भइरहेका छन् । तर, प्रचण्डले शक्तिशाली बन्न अख्तियार गरेका रणनीतिले कांग्रेस भन्दा पनि एमालेमा धक्का पुगेको देखिन्छ । त्यसैले नै उसले सरकार परिवर्तन भन्दा पनि हाम्रो ध्यान ग्राउण्ड लेबलमा पार्टी सुदृढिकरणमा छ भन्न थालेको छ । यसले प्रचण्ड सरकारलाई तत्काल संकटको जोखिम देखिँदैन ।