
काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डलाई पुनः विश्वासको मत लिनु पर्ने झन्झट आइलागेको छ ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भई प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यस पहिले नै दोस्रो पटक विश्वासको मत लिइसकेका छन् । शुक्रबार रास्वपाले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनले पुनः तेस्रो पटक विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । २७० सांसद उपस्थित प्रतिनिधिसभा बैठकमा त्यतिबेला उनको विपक्षमा २ मत मात्रै परेको थियो ।
एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पहिलो पटक कांग्रेसले समेत अप्रत्याशित रुपमा विश्वासको मत दिएको थियो ।
कांग्रेसले विश्वासको मत दिए देखिनै ढोक्सा थापेको एमाले नेताहरुले आरोप लगाइ रहेका थिए । नभन्दै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रधानमन्त्री प्रचण्ड कांग्रेसको कित्तामा पुगे ।
राष्ट्रपति निर्वाचनमा आइपुग्दा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण बदलेपछि एमाले सरकारबाट बाहिरियो । एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिए ।
पहिलो पटक विश्वासको मत दिएका दलहरु एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दोस्रो पटक विश्वासको मत दिएन ।
२ सय ६२ जना सांसद उपस्थित संसदको बैठकमा १ सय ७२ सांसदले मात्रै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए ।
सत्ता समीकरण बदलिएपछि दुई पटक विश्वासको मत लिइसकेका प्रचण्डले पुनः तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने भएको छ ।
सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता गरे पनि सरकारको समर्थन कायमै राखेको रास्वपाले शुक्रबार सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ।
संविधानको धारा १ सयको उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने’ उल्लेख छ ।
संसदको अंकगणितअनुसार कांग्रेसको ८८, माओवादी ३२, जसपा १२, नेकपा एस १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ४ तथा राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीका एक एक जना सांसद छन् ।
त्यसैले रास्वपाले सरकारको समर्थन फिर्ता लिए पनि वर्तमान समिकरणअनुसार सत्ता पक्षलाई स्पष्ट बहुमत देखिन्छ । तर विगत २ महिनामै बदलिएको सत्ता समीकरण तथा रातारात परिवर्तन हुने सत्ताको खेल त्यतिबेलासम्म के हुन्छ, यसै भन्न सकिदैन ।