प्रचण्ड-बाबुरामविरुद्ध मुद्दा दर्ता, अखण्ड भारत आपत्तिजनक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका लगायत गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा मुद्दा दायर गराएका हुन् । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरुलाई बाल सैन्यका रुपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरुले तत्काल आफूहरुलाई बालसेनाको पहिचान दिई परिपुरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारवाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।

राजनीतिमा विकृति सफा गरौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको बताएका छन् । उनले राजनीतिक विकृतिलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको समेत बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताए । उनले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गरे । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गरे । गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गरे । उनले विकास, विज्ञान र संस्कृतिलाई सँगसँगै अघि लानुपर्ने समेत बताए ।

सुदूरपश्चिममा पनि नामाङकनको मुद्दा चर्किदै

प्रदेशको नामाङकनमा असन्तुष्टि जनाउँदै कोशीमा परिचानवादीहरुले आन्दोलन चर्काइ रहेका बेला सुदूरपश्चिममा समेत प्रदेश नामाङकनको बहस पेचिलो बन्ने देखिएको छ । प्रदेशको नाम सुदूरपश्चिम राखिएकै समय आन्दोलनहरु चर्किएपनि यो बीचमा नामको विषय सेलाएको थियो । तर, कोशी प्रदेश नाम राखेपछि पहिचानको मुद्दा हरायो भनि पूर्वी नेपालमा आन्दोलन चर्किएपछि सुदूरपश्चिमसम्म नै यसले प्रभाव पारेको हो । अहिले पुनः सुदूरपश्चिम नाम फेर्नु पर्ने आवाज प्रदेश सभामा नै चर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सभाको आईतबारको बैठकमा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न माग गरेको हो । प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् ।

सास फेर्नै गाह्रो हुँदा न्यायाधीशले दिए निर्देशन

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारको बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरे । हज कमिटीका अध्यक्षसमेत रहेका शमसेरले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए । त्यसपछि टेकनाथ रिजालले टेकुको हिरासतमा सास फेर्न पनि समस्या हुने गरेको बताए । ‘खप्टिएर बस्नुपर्छ। सास फेर्न पनि गाह्रो भयो’, उनले भने । त्यसपछि न्यायधीश न्यौपानेले गुनासो तत्काल समाधान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । ‘मानिसका धार्मिक, सांस्कृतिक कुराहरूलाई हामीले हेरिदिनुपर्छ’, उनले भने । दरबारमार्ग वृत्तमा राखिएका ४ जनालाई शनिबार दिउँसो टेकु सारिएको थियो ।

अखण्ड भारत आपत्तिजनक

नेपाल समाजवादी पार्टीले भारतीय संसदमा ‘अखण्ड भारतको’ नक्सा आपत्तिजनक भएको बताएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाले यो नक्सा आपत्तिजनक रहेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ । नेसपाकोे जेठ २५ र २६ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ । नेसपाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘साथै भारतीय संसदमा अखण्ड भारतको आपत्तिजनक नक्सा राखेको सन्दर्भमा सरकारले भारत सरकारको ध्यानाकर्षण गराओस् भन्दै कूटनीतिक पहलबाट समस्याको हल खोज्न यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।’ त्यस्तै नेसपाले भ्रष्टिकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ ।

कोशीको बजेटः अध्यादेशको बाटोमा सरकार

कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी चार दलले संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको आशंका उत्पन्न भएको विज्ञप्ति मार्फत जनाएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलका नेता निर्मला लिम्बूले संयुक्त विज्ञप्ति जारी गदै विरोध गरेका हुन् । उनीहरुले अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने जनाएका छन् ।

अशान्त बन्दै सुदूरपश्चिम, हडतालै हडतालको जोखिम

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरिएको हो । हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेनन् । विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भने भित्रिएका थिए । शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार हड्तालका कारण अत्यावश्यकबाहेकका सेवा दिनभर प्रभावित भए । २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो । सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

नाला सफाई गर्दा गोली भेटिएपछि….

नाला सरसफाईको क्रममा विरगञ्जमा गोली फेला परेको छ । आईतबार बिहान वीरगन्जमा नाला सफाईको क्रममा ठूलो परिणाममा हतियारमा प्रयोग हुने गोली फेला परेको हो ।सफाईको क्रममा १ सय ५ थान गोली फेला परेको प्रहरीले जनाएको छ । महानगरपालिकाका कर्मचारीहरुले नाला सरसफाई गर्ने क्रममा प्लास्टिकको झोलामा उक्त परिणामको गोली फेला पारेको वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँले जानकारी दिए । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा प्रयोग हुने कुल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक शाहले बताए । बरामद भएको गोली कसले र कहिले राखेको हो भन्ने नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top