- सुजन चालिसे
काठमाडौँ । केही दिनअघि पत्रकार सम्मेलनका क्रममा एमाले अध्यक्ष केपी ओलीले भने–एमाले अहिले सत्ता दौडमा छैन, तत्कालै सत्ताका लागि एमालेले कुनै प्रयास गर्दैन । ओलीमात्र होइन, एमालेकै अन्य नेताहरुले समेत पछिल्लो समय विभिन्न मञ्चहरुमा यसको अनावश्यक प्रष्टीकरण दिइरहेका छन् ।
तर एमालेको शैली एकातिर ताकेर अर्कोतिर प्रहार गर्ने किसिमको छ । गत पुस १० मा एमाले माओवादी सरकार बन्नुअघि स्वयं एमाले अध्यक्षले अब प्रचण्डसँग सहकार्यको सबै ढोका बन्द भएको भाष्य सिर्जना गरिदिएका थिए । ठिक उसैप्रकार एमाले नेताहरुको पछिल्लो अभिव्यक्तीको वर्षात हुनुले एमालेले देब्रेतर्फ निशाना लगाएर दाहिनेतर्फ प्रहार गर्दै त छैन भन्ने आशंका उब्जिएको छ । अझ यसलार्य सशक्त मलजल गरेको छ, कांग्रेस सस्थापन इतर नेता शेखर कोइराला समुहप्रति एमाले नेताहरुको सामिप्य र उठबसले ।
वर्तमान गठबन्धन भत्काएर प्रचण्ड सरकार ढाल्ने रणनीतिमा एमाले सशक्त भएर लागेको छ । यसका लागि नेकपा एमालेले कांग्रेस नेता शेखर कोइरालालाई प्रधानमन्त्रीकै अफर गरेको खुलेको छ । एमालेकै दोस्रो तहका केहि नेताहरुले शेखरसँगको भेटवार्ता बढाएका छन् भने डा. शेखर कोइरालाले समेत एमाले अध्यक्ष ओलीसँग सामिप्यता बढाएका छन् ।
एमालेको पछिल्लो रणनीति वर्तमान सरकारलाई जसरीपनि असफल सिद्ध गराउने र नयाँ समिकरणको खोजी गर्ने रहेको छ । त्यसैका लागि एमालेले कहिले प्रधानमन्त्रीको राजीनामा माग त कहिले छानविन समितिको मागसहित निरन्तर संसदमा अवरोध सिर्जना गरिरहेको छ । एमालेले संसदमा सुनकाण्डको उच्चस्तरिय न्यायीक छानविन समिति बनाउने मागसहित अवरोध गरिरहँदा कांग्रेसकै संस्थापन इतरका नेताहरुले त्यसलाई साथ दिईरहेका छन् । संसदमा एमालेको अवरोध शैलीलाई नियाल्ने हो भनेपनि एमाले र कांग्रेस संस्थापन इतरको अघोषित गठबन्धन देखिन्छ । पछिल्लो पटक एमालेले संसदमा अवरोध गर्नुअघि एमाले सांसदहरुले आफ्नो धारणा राखे, त्यसपछि कांग्रेस सांसद सुनिल शर्मालाई बोल्ने समय दिईयो, शर्माले सरकारको विरोधमा भएभरको शब्दहरु खर्चिए, अनिमात्र नेकपा एमालेले संसद अवरोधको गतिविधि जनायो ।
सरकारलाई कतै न कतैबाट चिप्ल्याएर कांग्रेससँगको सहकार्यमा नयाँ सरकारको परिकल्पना गरेको एमालेले देउवासँगको साथ असम्भव देखेपछि शेखरलाई प्रधाननमन्त्रीको प्रस्ताव गरेको नेताहरु बताउँछन् । कांग्रेसभित्रको वर्तमान परिस्थितीमा यसको सम्भावना नदेखेपछि कांग्रेस फुटाएर सहकार्यका लागि आउन समेत एमालेले अफर गरेको छ । स्वयं डा. शेखर कोइरालाले एक सार्वजनीक कार्यक्रममा वर्तमान सरकार छिटै ढल्नसक्ने संकेत गरिसकेका छन् ।
वर्तमान सरकारलाई सत्तापक्षबाटै असफल साबित गराउन एमाले लागिपरेको छ । यसका लागि एमालेले उठाएको प्रमुख अस्त्र हो कांग्रेस सांसद सुनिल शर्मा । पछिल्लो सुन प्रकरणमा शर्माले निरन्तर आफ्नै पार्टीबाट सरकारमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतसहित प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको रटाननै लगाएका थिए । सरकारमा माओवादीको शरणमा रहनुपरेकोप्रति कांग्रेसमा असन्तुष्टी रहेकै छ, त्यसमा सांसद शर्मा लगाएत कांग्रेस इतर पक्षले निरन्तर घिउ थपिरहेका छन् । नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा अचानक शर्मा पक्राउ परेपछि कांग्रेसभन्दा बढि एमाले नेताहरुमा बेचैनी पैदा भएको थियो । कांग्रेस इतरपक्षका नेताहरुले त यसको विरोध गरेका थिए नै, एमाले अध्यक्ष केपी ओलीले यसको सबैभन्दा चर्को विरोध गरे ।
एमाले अध्यक्ष ओलीले भरेको हावामा सांसद शर्मा उडेका रहेछन् भन्ने सामान्य चेत भएकाले समेत बुझिसकेका छन् । जेलबाट रिहा भएलगत्तै शर्माले दिएका अभिव्यक्ती र बालकोटमै पुगेर एमाले अध्यक्षलाई भेटेपश्चात झन चर्किएर प्रस्तुत भएका शर्माको हाउभाउले यसमा थप आधार प्रस्तुत गरेको छ । शर्माले सरकार परिर्वतनको लागि प्रयास भइरहेको र कांग्रेस एमालेको आलोपालो सरकार बन्ने बताएका छन् । उनले यतिमात्र भनेनन्, शेरबहादुर देउवा, केपी ओली हुँदै शेखर कोइराला र गगन थापा सबैले प्रधानमन्त्रीको भाग पाउने समेत बताए ।
सरकार परिवर्तन र त्यसका लागि शेखर कोइरालालाई प्रस्ताव एमाले तथा कांग्रेस नेताहरुलेनै स्वीकार गर्छन् । ओली र विगतको सम्बन्ध हेर्ने हो भने, नयाँ परिस्थितीको सम्भावना नरहला भन्न सकिन्न । विगतमा निर्वाचनका बेला होस वा सरकार गठनका बेला शेखर बालकोट पुगेर ओलीलाई भेट्ने गरेका छन् । यसअघि निर्वाचनका बेला देउवासँग बार्गेनिङका लागि शेखर कोइराला र केपी ओलीबिच चुनावी गठबन्धनकै समेत चर्चा चलेको थियो । तर हाल कांग्रेसमा देउवाकै पकड रहेका कारण एमालेको अफर शेखरलाई खल्लो लागेको छ । शेखरलाई पार्टी फुटाएरै भएपनि सहकार्य गर्न समेत एमालेले प्रस्ताव गरेको बताईन्छ, यसमा एमाले आशावादी छैन, प्रयासरत भने पक्कै छ । तर वर्तमान परिस्थितीमा गठबन्धन छोडेर नयाँ सरकार गठनको प्रयासमा लाग्ने हिम्मत शेखरले गरेका छैनन् । निकट भविष्यमै नयाँ सरकार गठनको दौडधुप सुरु भए अचम्म मान्नुपर्ने छैन ।




