
काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषय नटुंगिएपछि सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
समिति गठन गर्नका लागि कार्यदलले मस्यौदा भने तयार भइसकेको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (हिजो) बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएको जानकारी दिएका थिए ।
एमालेले समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राखेपछि अन्ततः सत्ता पक्ष लचिलो बन्न पुगेको छ ।