
असोज ४ ।
आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोगले स्थायी बसोबास स्थानको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ। आयोगको निर्णयअनुसार असोज ३० गतेसम्म नामावली संकलन हुने जनाएको छ।
यस कार्यक्रमअन्तर्गत १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालय र तोकिएका स्थानमा नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
नाम दर्ता गर्न आयोगको वेबसाइट www.election.gov.np वा प्रि–रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) प्रयोग गर्न सकिने छ भने जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक विवरण पनि उपलब्ध गराइनेछ।
आयोगका अनुसार विवाह, बसाइँसराइ वा अन्य कारणले पुरानो ठेगाना बदलिएका नागरिकले पनि नयाँ स्थानमा नाम दर्ता गराउन सक्नेछन्। यसरी नामावली अद्यावधिक गर्ने व्यवस्था मिलाइएको हुँदा सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा तोकिएको मिति भित्र नाम दर्ता पूरा गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नागरिक अधिकार प्रयोग गर्न आह्वान गरिएको छ।





