
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।
उनले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए । उनले तत्कालिन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताए ।
उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए । उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।
उनले भने, ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस ग¥यौँ । विघटन ग¥यौँ । हामीले ठिक ठानेर ग¥यौँ । ठिक भनेर ग¥यौँ । ठिक थियो र ग¥यौँ । नगरी नहुने थियो र ग¥यौँ । बिल्कुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो ।’
अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताए । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताए ।
उनले भने, ‘विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए । कहाँ गएनन् ? के गरेनन् उनले ? र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडीको सिटमा बसेर, पछाडीको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए । कहाँसम्म गिरेका होलान् ।’
उनले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे ।