प्रतिभामा व्यावसायिक योजनाबारे प्रतियोगिता

पोखरा । पोखरा सफल व्यवसायी आनन्दराज बतासले व्यावसायिक सफलताको लागि अनुभव, पैसा र क्षमताले मात्र नहुने, सकारात्मक सोच पनि चाहिने बताएका छन् ।
प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापनमा कक्षा ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार उनले भने, ‘सफल व्यावसायी बन्ने हो भने सोच सकारात्मक हुनुपर्छ । त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ । क्षमता र दक्षताले मात्र पनि हुने होइन ।’

विद्यालयले व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीबीच व्यावसायिक योजना प्रस्तुत गर्नेबारे प्रतियोगिता राखेको थियो । कार्यक्रमबीच बतासले भने, ‘सफल व्यावसायी बन्ने हो भने सकारात्मक सोेचौं, अरु पनि सहयोग त चाहिन्छ, तर, सोचाइ सकारात्मक भयो भने छिटो सफल भइन्छ ।’ पूख्र्याैली सम्पत्तिका भरमा मान्छे धनी नहुने उनले बताए । ‘विश्वका सबैजसो धनाढ्य मान्छेहरु पूख्र्याैली सम्पत्तिका भरमा मात्र धनी भएका होइनन्््, सफल व्यवसायी हुन पैसा पनि नभई त हुँदैन, तर त्योभन्दा महत्वपूर्ण कुरा सकारात्मक सोच राख्नुपर्छ,’ उनले भने, ‘आफू सफल हुनका लागि अरुलाई असफल बनाउने प्रयास गर्न जरुरी छैन ।’

विद्यालय प्राचार्य किरण सापकोटाले विद्यार्थीमा व्यावसायिकताको ज्ञान दिलाउने उद्देश्यले व्यावसायिक योजना प्रस्तुत गर्नेबारे प्रतियोगिता आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगितामा व्यावसायिक अनुभव बटुलेका व्यक्तिले अनुभव साट्दा विद्यार्थीले पछ्याउन सक्नेछन् । यसापलि व्यक्तिगत र समूहगत गरी २८ समूहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५, १० र ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसबाहेक उत्कृष्ट व्यावसायिक योजनालाई निरन्तरता दिन चाहेमा विद्यालयले ५ लाख रुपैयाँ बिउँ पुँजी पनि प्रदान गर्ने सापकोटाले बताए । कफी, डेरी, कृषि, पदयात्रा, पशुपालन, मौरी, कफीसप जस्ता विभिन्न व्यवसायबारे विद्यार्थीले व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्माले कुनै पनि व्यवसायीले व्यावसायमा हाम फाल्नु अघि धेरै पक्ष सोच्नुपर्ने बताए । उनका अनुसार व्यावसायिक सफलता हात पार्नका लागि उत्पादन, सम्भाव्यता अध्ययनसहित कानुनी प्रावधान बुझ्नुपर्ने हुन्छ ।

विद्यालय अध्यक्ष नारायणप्रसाद पौडेलले भने, ‘१२ कक्षा पढेपछि विद्यार्थी विदेश जाने गरेका छन् । देशमै बसेर केही गर्नुपर्छ भन्ने छाप बसाउन यस्तो कार्यक्रम गरेका हौं ।’
प्रतियोगिता निर्णायकमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक शर्मा, सिद्धार्थ बैंकका क्षेत्रीय प्रमुख नीरज श्रेष्ठ र अटोवेज प्रालि प्रमुख कार्यकारी सन्ध्या पौडेल थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top