पोखरा । पोखरा ३ पालिखेचोकस्थित प्रतिभा माविले विज्ञान विषय अध्ययन गर्ने गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमुखीकरण गर्दै आएको विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीका लागि अभिमुखीकरण गर्ने गरी ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीलाई निम्त्याएको थियो । दश कक्षामा अध्ययनरत रहँदा गलत उपचारले दृष्टि गुमाएकी केसी हाल दृष्टिविहीनको क्षेत्रमा काम गर्दै आएकी छिन् ।
दृष्टि गुमाएपछि सबैले भविष्य सकिएको भन्दै चिन्ता गरिरहँदा केसीले अध्ययनमा अब्बलता देखाएर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकी थिइन् । दृष्टिविहीन हुनुपर्दाको अवस्था र आफू कसरी सफल हुन सकिन्छ भनेर केसीले विज्ञान विषयका विद्यार्थीका लागि मन्तव्य दिएकी थिइन् । ‘मैले दृष्टि गुमाउँदै गर्दा मेरा लागि शिक्षामा खर्च नगर्न कतिपयले मेरा अभिभावकलाई भनेका थिए । तर, मैले मेरो आत्मा बलियो बनाएर अध्ययन गरेँ । त्यसले मलाई सफलता दिलायो,’ सफलताको कथा सुनाउँदै केसीले भनिन्, ‘यतिसम्मकी दृष्टिविहीन हुनुपर्दा मलाई धेरै कलेजले भर्ना लिन मानेका थिएनन् तर मैले पाएको अवसरलाई उपयोग गर्ने गरी निकै नै दुखका साथ अध्ययन गर्दा सफलता हात लागेको थियो ।’
उनले आफूले आफूलाई कहिल्यै कमजोर नदेख्न अरु विद्यार्थीलाई पनि आग्रह गरिन् । ‘भोलिका लागि आज राम्रो गर्नुपर्छ । चाहने हो भने हरेक क्षेत्रमा सफलता मिल्छ,’ उनले भनिन्, ‘म सक्दिनँ भनेर कहिल्यै हरेस नखानू । सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ ।’ उनले आफ्नो सफलता सानोतिनो मेहनतले नआएको बताइन् ।
दृष्टि गुमाएपछि जसोतसो कलेज भर्ना हुन पाएकी उनले शिक्षकले पढाएको रेकर्ड गरेर सुन्ने गरेकी थिइन् । ‘ब्रेकमा साथीहरू खाजा खान क्यान्टिन जाँदा म भोकभोकै बसेर कक्षामा पढ्थँे, मलाई पनि भोक लाग्थ्यो तर, मसँग पेटको भन्दा पढाइको भोक थियो, त्यही पढाइले पूरा गर्दा सफल हुन पाएँ,’ उनले सुनाइन् ।
विद्यालयका प्राचार्य किरण सापकोटाले ११ र १२ कक्षामा गरेको दुई वर्षको मेहनतले साँच्चै राम्रो भविष्य हुने बताए । ‘अबका दुई वर्ष जिन्दगीका लागि सबैभन्दा महŒवपूर्ण समय हो । यो अवधिको मेहनतले जिन्दगी उज्यालो हुन्छ,’ उनले भने । उनलाई प्रतिभा माविले शक्तिशाली भन्दा पनि असल व्यक्ति बन्न सघाउने बताए । ‘हामी अबका विद्यार्थीका सफलताको कथा लेख्न आएका हौं, त्यसमा सबैको साथ चाहिन्छ,’ उनले भने ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यार्थीलाई राम्रो व्यक्तिको संगत गर्न सुझाए । ‘अहिलेको समय यस्तो छ कि एकमिनेटमै भाइरल बन्ने बेला हो । त्यसैले संगत राम्रो गरेर अब्बल बनेर निस्कनुपर्छ,’ उनले भने, ‘नकारात्मक नभई सकारात्मकताको बाटोमा अघि बढ्नुपर्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविष्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताए । ‘अबका दुई वर्ष साहै्र नै महŒवपूर्ण समय हो । यो समय खेर जान दिनुहुन्न, भविष्य कोर्ने अबको समयले हो,’ पौडेलले भने ।
कार्यक्रममा गायक शिव परियारले झन्डै एकदर्जन गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए । यसअघि विद्यालयले शुक्रबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।