प्रदेश सभा बैठकको अत्तोपत्तो छैन, कानुन निर्माण प्रभावित

प्रदेश सभा बैठकको अत्तोपत्तो छैन, कानुन निर्माण प्रभावित

  • सुनिता विष्ट

मकवानपुर । बागमती प्रदेशसभा बैठक नबसेको एक महिना पूरा भयो । गत असार २१ गते बैठक बसेर अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभाको बैठकको अत्तोपत्तो छैन । यसरी लामो समयसम्म प्रदेश सभा बैठक नबस्दा बागमती प्रदेश सभा विजनेसविहिन भएको छ । जसले गर्दा ऐन निर्माण प्रभावित भएको छ ।

प्रदेश सभालाई चलायमान बनाउन सरकारले आवश्यक विधेयकहरु सचिवालयमा दर्ता गराउन पर्छ । तर बागमती प्रदेश सरकार नै विधेयक ल्याउनेतर्फ अग्रसर भएको पाइँदैन । जसले गर्दा प्रदेश सभा झण्डै एक महिनादेखि विजनेसविहिन छ । सदनमा सरकारले पर्याप्त मात्रामा बिजनेस दिन नसक्दा संसद स्थगित हुँदै आएको छ । बैठक बोलाउनको लागि हालसम्म सरकारले कुनै निर्देशन जारी नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारले छिट्टै प्रदेश सभा बैठक बसेर विधेयक ल्याउने तयारी गरिरहेको बताएको छ । तर असार २१ गतेपछि प्रदेश सभा बैठक बसेको छैन । संसद बैठक कहिले बस्ने भन्ने बिषयमा पनि सरकारले सचिवालयलाई केही जानकारी गराएको छैन ।

यता, प्रदेश सरकारका प्रतिपक्षी दलहरु भने सरकारले प्रदेश सरकार बैठक नै आव्हान नगर्दा आफूहरु फूर्सदिलो हुन परेको बताउँछन् । सरकारले नयाँ योजना तथा कानुन ल्याउने उद्देश्य नबनाउँदा न प्रदेश सभाको बैठक न विधेयक भएर अलमलताको अवस्था सिर्जना भएको विपक्षी दलको तर्क छ ।

त्यसो त, प्रदेश सभाको बैठक कहिले आव्हान गर्ने भन्ने बिषयमा प्रदेश सरकार आफै अलमलिएको पाइन्छ । तत्काल प्रदेश सभा बस्ने तयारी नरहेको भन्दै भदौको पहिलो हप्तामा बस्न सक्ने सम्भावना रहेको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ बताउँछन् ।

अहिलेसम्म प्रदेशसभाको २ वटा अधिवेशन सञ्चालन भएका छन् । जसमा ४६ वटा बैठक बसे । गत १८ पुसदेखि सञ्चालन भएको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा जम्मा १८ वटा बैठक बसे भने दोस्रो अधिवेशनमा २८ वटा बैठक बसेको थियो । उक्त बैठकमा प्रदेश सरकारका तर्फबाट दर्ता भएका ४ वटा विधेयक पारित गरिएको छ भने प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा विधेयक पारित गरिएको थियो । प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थापन र २ वटा विधेयक पास भएका छन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *