प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-के छन् एजेण्डा ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाँदैछन् ।  बुधबारदेखि चार दिने भारत भ्रमणमा जान लागेको भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित पाँच मन्त्री पनि सहभागी हुँदैछन् ।

औपचारिक निमन्त्रणमा चौथोपटक भारत भ्रमणमा जान लागेका प्रचण्डले यो भ्रमण ऐतिहासिक हुने बताइरहेका छन् । भारतसँगको सीमा समस्या तथा इपीजी प्रतिवेदन, ऊर्जा ब्यापार लगायतका विषयमा प्रधानमन्त्रीले महत्वपूर्ण कुराकानी गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले चार दिने भ्रमणका क्रममा बुधबार दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड पुस ११ गते प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणमा निस्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले भारत भ्रमण महत्वपूर्ण र ऐतिहासिक हुने बताएका छन् । आफ्नो भारत भ्रमणको एजेण्डा तय गर्न भन्दै प्रचण्डले यसअघि पूर्व प्रधानमन्त्रीहरु तथा परराष्ट्रविदहरुसँग छलफल गरेका थिए ।

नेपाल र भारतबीचको सन्धि तथा विभिन्न मुद्दाहरुमा छलफल गरेर दुवै देशका सरकारलाई सिफारिस गर्न गठित प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) ले दुई वर्षमा तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्न मानिरहेका छन् ।

सन् १९५० का असमान सन्धिहरुको पुनरावलोकन गर्न समूहले सुझाव दिएका कारण पनि भारतीय पक्षले प्रतिवेदन बुझ्न मानिरहेको छैन ।

त्यसैले पाँच वर्षदेखि अल्झिएको इपीजी प्रतिवेदनबारे स्पष्ट गर्न पूर्व प्रधानमन्त्री एवम् परराष्ट्रविद्हरुले सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा कस्ता सम्झौताहरु होलान् भन्ने आम चासोको विषय बनेको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् । भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने मन्त्री साउदले बताए । साथै नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने मन्त्री साउदले बताए ।

परराष्ट्रमन्त्री साउदकाअनुसार, भारतीय भूमी प्रयोग गरी बंगलादेशमा उर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय बन्नेछ ।

पञ्चेश्वरदेखि केही महत्वपूर्ण परियोजनाका सन्दर्भमा यसको निर्माणको प्रक्रियामा ढिलाइ भइरहेको छ । पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउनेबारे पनि प्रधानमन्त्रीले प्रयत्न गर्नेछन् ।

एयर ट्रान्जिटको कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका मुद्दा लगायत केही सानोतिनो प्राविधिक विषयहरुमा पनि छलफल गरी टुंगोमा पुगिने मन्त्री साउदले बताए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा परराष्ट्रमन्त्री साउदका साथै अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी हुने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *