स्याङ्जा । पुतलीबजार नगरपालिकाले एसइई उत्तीर्ण २८ जनालाई छात्रवृत्तिमा प्राविधिक शिक्षा पढ्ने अवसर दिने भएको छ । नगरपालिकाले ५० प्रतिशत छात्रवृत्तिमा २८ जनालाई अध्ययनको अवसर दिने भएको हो ।
कक्षा ११ लाई लक्षित गर्दै नगरपालिकाका १४ वडाबाट २/२ जना छनौट गरिने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । गरिब तथा जेहेनदार विद्यार्थी पहिलो प्राथमिकतामा पर्ने उनले बताए ।
उनका अनुसार प्राविधिक तथा सिभिल इन्जिनियरिङ अध्ययन गर्न चाहने तर आर्थिक अवस्थाका कारण पढाइबाट वञ्चित बालबालिका लक्षित गर्दै यो सुविधा दिइएको हो । यसरी आउने विद्यार्थी पहिचानका लागि वडाबाट सिफारिस लिइ आउनुपर्ने शिक्षा शाखा प्रमुख बाबुराम बरालले बताए ।
पुतलीबजार १ स्थित त्रिभुवन आदर्श नमुना माविमा प्राविधिकतर्फ ओभरसियर तथा सिभिल इन्जिनियरिङतर्फका पढाइ हुँदै आएका छन् ।