
काठमाडौं । एमाले सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्तालाई तीब्रता दिन थालेका छन् । ओलीले प्रधानमन्त्रीलाई निरन्तर किन भेटिरहेका छन् त ?
नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि एमाले सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् । अर्घाखाँचीको कार्यक्रममा विशेष अतिथि बनेका उनी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भैरहवासम्म पुगे । प्रहरीको सुरक्षा घेराभित्रै भैरहवासम्म पुगेका टोपबहादुर त्यसपछि भने फरार रहेका छन् ।
काठमाडौंमा पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानलाई सघाउने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका टोपबहादुर कहाँ छन् त ? उनी फरार नै भएका हुन् त ? प्रहरीको सुरक्षा घेराभित्रै भैरहवासम्म आएका टोपबहादुर कसरी बेपत्ता भए त ? यस्ता प्रश्नले प्रहरी र सरकारको नियतमाथि नै प्रश्न उब्जिएको छ ।
टोपबहादुरविरुद्व अर्घाखाँची हुँदै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, भैरहवासम्म आइपुग्दा उनी सुरक्षित नै थिए । बहालवाला सांसद भएकाले पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सुचना संसद सचिवालयमा दिनुपर्ने विषय थियो ।
तर, जनप्रतिनिधि तथा थुप्रै पटक मन्त्री र उपप्रधानमन्त्री बनिसकेका व्यक्ति नै भाग्छन् भन्ने आशंका कसैले गरेनन् । उनी आफैले पनि आफू निर्दोष रहेको भन्दै प्रहरीलाई सघाउने प्रतिवद्धता जनाउँदै विश्वास दिलाउन खोजेका थिए ।
टोपबहादुर फरार भएपछि भने यता उनका पार्टीका अध्यक्ष ओली र पूर्वसहकर्मी प्रचण्डबीच तारन्तार भेटवार्ता भइरहेको छ ।
ओलीले प्रचण्डसँगको भेटपछि सांसदविरुद्धको पक्राउ पुर्जीबारे आश्चार्य प्रकट गर्दै पार्टीले अनुसन्धान गरिरहेको दाबी गरे । उनको पार्टीले अनुसन्धान कहिलेसम्म गर्छ त्यो थाहा नभएपनि टोपबहादुरविरुद्ध सरकार र प्रहरीले सक्रियता कति देखाउने भन्ने विषय प्रमुख बनेको छ ।
यसअघि फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि संसद बैठकमा उपस्थित हुनेदेखि विश्वासको मत दिने कार्यक्रममै सहभागी भएका थिए ।
प्रहरीको फरार सूचीमा रहेका उनी पक्राउ पर्ने त टाढाको कुरा एमालेले बचाउ गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डसँगको निरन्तरको भेट र दुबै नेताहरुसँग काम गरिसकेका टोपबहादुरविरुद्धको अनुसन्धान नै राजनीतिक छायाँमा पर्ने त होइन ? आशंका थप पेचिलो बनेको छ ।
जनयुद्धकालमा प्रचण्डसँग र चौतर्फी घेराबन्दी हुँदा ओलीसँग रहेका टोपबहादुरका छोरा पक्राउ परेपनि उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसमेत भइसकेका सांसद जस्तो व्यक्तिले नैतिकताको आधारमा नै प्रहरी कहाँ पुग्नु पर्दैन ?
कहिलेसम्म भाग्ने ? वातावरण मिलाएर वा प्रहरी अनुसन्धान फितलो गराउने सर्तमा ? खोजी यी र यस्तै प्रश्नको अब हुन थालेको छ ।