बगानको १० दिनको ग्रस कलेक्सन ७० लाख

बगानको १० दिनको ग्रस कलेक्सन ७० लाख

ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको सामाजिक कथाको फिल्म बगानले दश दिनमा करिब ७० लाख ग्रस कलेक्सन गरेको छ।

फिल्मका निर्माता सुरेश वाग्लेले सार्वजनिक गरेको तथ्यांकअनुसार गत २९ गते रिलिजमा आएको फिल्मले ६९ लाख ७८ हजार एक सय ९१ रुपियाँ ग्रस कलेक्सन गरेको हो। फिल्मले ११औं दिन सोमबार पनि राम्रो व्यापार गरेको उनले बताए। नेपाली फिल्मले दर्शकको अभाव झेलिरहेको विषम् परिस्थितिमा पनि बगानको व्यापारले उमंग ल्याएको निर्माता वाग्लेको भनाइ छ। एकल आमाले देशका जुनसुकै हलमा पनि निःशुल्करुपमा फिल्म हेर्नसक्ने व्यवस्थाअनुसार एक हजारभन्दा धेरै एकल आमाले बगान हेरिसकेका छन्।

सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतले अभिनय गरेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत, सुगम पोखरेल, अञ्जु पन्त र अस्मिता अधिकारीको स्वर, गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ। बगान नेपालपछि अमेरिकासहित नेपालीको बसोवास रहने विभिन्न देशमा प्रदर्शन गरिने भएको छ।

यसैबीच अभिनेत्री करिश्मा मानन्धर सोमबार भक्तपुरको राधेराधेस्थित क्यूएफएक्स सिनेमा हलमा कलेजकै पहिरनमा बगान हेर्दै गरेको भेटिइन्। उनी बिहानी कलेजको क्लास सकेर बगानका दर्शकसँग साक्षात्कार गर्न सिधै त्यहाँ पुगेकी हुन्। एकल महिलाको संघर्षशील कथाको फिल्ममा करिश्माले वास्तविक जीवनमा जस्तै उमेर बढेपछिको विद्यार्थीको भूमिका निर्वाह गरेकी छिन्। ञफिल्मको पहिलो हाफमा मैले विद्यार्थीकै भूमिका निर्वाह गरेको छु र वास्तविक जीवनमा पनि पढिरहेकाले कलेजबाट सिधै यहाँ आएर फिल्म हेर्दा सकारात्मक ऊर्जा मिलिरहेको छ, करिश्माले भनिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *