- सुश्मिता वानिया
काठमाडौं । संघीय सदनका दुवै सदनमा आगामी वर्षको बजेटमाथिको छलफल जारी छ । प्री–बजेट छलफलमा पनि बजेटमा केन्द्रित नभएका सांसदहरु पोष्ट बजेट छलफलमा पनि केन्द्रित भएको देखिदैन ।
पोष्ट बजेट छलफलको पहिलो दिन मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा केन्द्रित भएको संसद, बजेट छलफलको दोस्रो दिन आलोचना र प्रश्नमा मात्रै सिमित रह्यो ।
सरकारले आगामी आर्थिक वर्ष ०८०\०८१को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल बाटै आलोचित र आशंकित हुँदै संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ मा प्रस्तुत गरेको थियो । तर, प्रस्तुत बजेटमा आलोचना र आशंका गर्ने सांसदहरु प्रतिपक्ष दलका मात्र नभएर सत्तारुढ दलका सांसदहरु पनि रहेका छन् ।
यता, प्रतिपक्षी दलका सांसदहरु त झन् सुझाव भन्दा आलोचनामै समय विताइ रहेका छन् । सुझावको साटो एमाले सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुनगान गाए ।
बजेट छलफलका लागि रोष्ट्रममा पुगेका एमाले सांसद गोकुल बास्कोटाले बजेटमा सुझाव दिनुको सट्टा विकासको मानक केपी ओलीबाहेक अरु कुनै प्रधानमन्त्री हुन नसकेको दाबी गरेका छन् ।
रचनात्मक प्रतिपक्ष भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक वर्ष २०८०\०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको जारी छलफलमा बजेट वैज्ञानि नभएको तर्क गरेको छ । भने, अर्को बजेटमा जनताले सास फेर्नका लागि पनि कर तिर्नुपर्ने हो ? भन्दै अर्थमन्त्री महतलाई प्रश्न गरेको छ ।
त्यसैगरी, सत्तापक्ष दलका अन्य सांसदहरुले पनि बजेटमा सुझाव दिएका छैनन् । बजेट छलफलका लागि रोष्ट्र«मा उभिएका सांसदहरुले आर्थिक वर्ष ०८०\८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् भने, मधेश प्रदेश र तराईका जिल्लालाई सबैभन्दा कम बजेट दिएर विभेद गरिएको आरोप पनि लगाएका छन् ।
मंगलबार बाट संघीय संसदको तल्लो तह अर्थात प्रतिनिधिसभा र बुधबारबाट संघीय संसदको माथिल्लो तह राष्ट्रिय सभामा आगामी वर्षको बजेटमाथि छलफल भईरहेको छ । तर, यो छलफलले आगामी वर्षमा सरकारले बजेट कसरी परिचालन गर्नुपर्ने हो ? भन्ने विषयमा निचोड निकाल्न सकेको छैन् ।