
बहादुरगन्ज , फागुन ७ ।
सवारी चालकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बहादुरगन्ज ट्राफिक प्रहरी कार्यालय, तथा इलाका प्रहरी कार्यालय, बहादुरगन्ज को संयुक्त पहलमा स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ट्राफिक प्रहरी बहादुरगन्जका प्रमुख ASI जगत बहादुर कडायतको नेतृत्व रहेको थियो। स्वास्थ्य परीक्षण कार्यक्रम छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगन्जको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।
कार्यक्रम अन्तर्गत सवारी चालकहरूको नजर जाँच, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, स्वास्थ्य परामर्श तथा सुझाव प्रदान गरिएको थियो। स्वास्थ्य परीक्षणको क्रममा धेरै चालकहरूमा उच्च वा न्यून रक्तचाप, कमजोर दृष्टि लगायतका समस्याहरू देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिए। यसै अवसरमा ट्राफिक प्रहरीले चालकहरूलाई सचेत रहन, नियमित स्वास्थ्य परीक्षण गर्न तथा ट्राफिक नियमको पालना गर्न विशेष आग्रह गरेको छ।
ASI जगत बहादुर कडायतले सवारी चालकहरूको स्वास्थ्य स्थिति ट्राफिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रममा इलाका प्रहरी कार्यालय, बहादुरगन्जका प्रमुख खीम बहादुर जिसी सहित अन्य प्रहरीहरू तथा स्थानीय चालकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सवारी चालकहरूले यस्तो स्वास्थ्य परीक्षणले आफूहरूलाई धेरै मद्दत गर्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।