
बहादुरगन्ज।
कृष्णनगर नगरपालिकाको अनुगमन टोलीले बहादुरगन्ज चोक क्षेत्रमा सञ्चालनमा रहेका होटेल तथा मासु पसलहरूको अनुगमन गरेको छ।
अनुगमनका क्रममा होटेल तथा मासु पसलमा सरसफाइको अवस्था, खाद्य सामग्रीको सुरक्षित भण्डारण तथा ग्राहकका लागि अनिवार्य रूपमा शौचालयको व्यवस्था हुनुपर्ने विषयमा विशेष जोड दिइएको छ। नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना नगरेमा आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।
बहादुरगन्ज क्षेत्रमा हुलाकी सडक निर्माणपछि लामो दूरीका सवारीसाधनहरूको आवागमन बढेसँगै चोकमा यात्रु तथा ग्राहकको चाप समेत उल्लेख्य रूपमा बढेको छ। तर चोकका केही होटेल तथा पसलमा शौचालयको व्यवस्था नहुँदा यात्रु तथा ग्राहकले समस्या भोग्नुपरेको गुनासो आएको छ।
अनुगमन टोलीले व्यवसायीहरूलाई तत्काल सरसफाइ सुधार गर्न, खाद्य सामग्री ढाकेर सुरक्षित रूपमा राख्न तथा होटेलमा शौचालयको उचित व्यवस्था मिलाउन निर्देशन दिएको छ। नगरपालिकाले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।



