बाग्मती सरकार : सरकार पूर्णता पाउने कहिले ?

बाग्मती सरकार : सरकार पूर्णता पाउने कहिले ?

  • सुनिता विष्ट

मकवानपुर । बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको आगामी २६ गते मंगलबार ४ महिना पूरा हुँदैछ । ४ महिनाको अवधिमा हालसम्म ३ पटक मन्त्रीपरिषद् विस्तार हुँदा पनि सरकारले पूर्णता पाएको छैन ।

कांग्रेस र एकीकृत समाजवादीको आ–आफ्नै दावीले सरकार पूर्ण हुन नसकेको हो । कांग्रेसले आफ्नोे मन्त्रीको नाम नपठाउँदा सरकारलाई पूर्णता दिन नसकेको चर्चा चुलिएको छ ।

गत चैत्र १० गते कांग्रेसकै साथ पाएर पुनः विश्वासको मत लिएका बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ४४ दिन वित्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

गठबन्धन दल कांग्रेसलाई मनाउँन नसक्दा प्रदेश सरकारले पूर्णता नपाएको हो । प्रदेशको पाँच मन्त्रालय रिक्त छ । रिक्त रहेको ५ मन्त्रालयमध्ये कांग्रेसले ४ र एकीकृत समाजवादीले २ मन्त्रालयको दावी छाडेको छैन ।

रिक्त ५ मन्त्रालयमा भागवन्डा मिलाएर आउन सरकारले आग्रह गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिकमामिला मन्त्री गंगानारायण श्रेष्ठ बताउँछन् ।

गत माघ ११ गते नै पूर्णता पाइसकेको बागमती सरकार केन्द्रको राजनीतिक समीकरणका कारण अपूर्ण बनेको हो ।

राप्रपा र एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएपछि माओवादी ४ जना मात्रै सरकारमा छन् ।

११ सदस्यीय मन्त्रीपरिषद्मा हाल ६ मन्त्री हुँदा मुख्यमन्त्रीको काँधमा मुख्यमन्त्री कार्यालयदेखि अझै ५ मन्त्रालयको जिम्मेवारी छ ।

प्रदेश सभाको ठुलो दलको हैसियतले ६ मन्त्रालयको दाबी गरिरहेको कांग्रेस आफ्नो अडानबाट ब्याक नहुने अडानमा छ। अंकगणितको हिसावले ६ मन्त्रालय कांग्रेसले पाउनुपर्ने कांग्रेसको दाबी छ।

सरकार विस्तारमा मुख्यमन्त्री चुके भन्ने चौतर्फी चर्चा भैरहँदा आफ्नो कारणले सरकारलाई पूर्णता दिन नसकेको भन्नु गलत भएको मुख्यमन्त्री जम्मकट्टेले बताउँदै आएका छन् ।

मन्त्रालयको संख्या टुंग्याएर आए मन्त्रीपरिषद् विस्तारलाई कुनै समस्या नरहेको उनको भनाइ छ ।

बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालय मन्त्रीविहिन छ । यद्यपी, प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले तदारुकता नदेखाउँदा सरकारलाई पूर्णता दिन नसकिएको गठबन्धन दलकै नेताहरुको आरोप छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *