नेपाल सरकारले असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी ज्यान गुमाएकाहरूका परिवारलाई राहतस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई उक्त राहत उपलब्ध गराउने निर्णय गरेको हो।
साथै, बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब कोषमा योगदान गर्ने निर्णय गरेको छ। देशभर बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिलाई स्मरण गर्दै सरकारले तीन दिनसम्म राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ, जसअन्तर्गत राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् र १४२ जना घाइते भएका छन्।