काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन पुनः अर्को एक्सनमा उत्रिएका छन् । बालेनको निर्देशनमा सोमबार काठमाडौं महानगरको टोलीले दुई वटा अस्पताल नै सिल गरिदिएको छ । दर्ता नवीकरण नगरी सञ्चालन भएको भन्दै काठमाडौं महानगर वडा नम्बर ६ बौद्ध र वडा नम्बर ३२ कोटेश्वरमा रहेका दुई वटा अस्पताल सिल गरिएको हो । महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल ग¥यो । अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी समेत विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।
स्वर्गद्धारीमा कार दुर्घटना, आठ जनाको मृत्यु
प्यूठानमा स्वर्गद्धारी दर्शन गरी फकर्ने क्रममा कार दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार प्यूठानको स्वर्गद्धारी नगरको भिग्री टाकुरामा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा परेका व्यक्तिको पहिचान हुन सकेको छैन । दुर्घटनामा २ महिला २ पुरुष, ४ बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुबास खडकाले जानकारी दिएका छन् । कार चालक लमही नगरपालिका ५ का तारा कुमाल रहेको लाइसेन्सबाट पुष्टि भएको छ । मृत्यु भएकाको पहिचान हुन कठिन भएको प्रहरीले बताएको छ । कार ३० मिटर तल एउटा घुम्तीबाट अर्को घुम्तीमा खसेको थियो । कारको गति तीव्र भएकाले दुर्घटना हुन सक्ने अनुमान गरिएको छ ।
संसदीय क्षेत्र पूर्वाधार विकासको गलत प्रचार भयोः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताएका हुन् । संसद उठेका विषयमा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पुँजीगत खर्च नै हो ।’ कम्तीमा १ करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उनले प्रस्ट पारे । ‘माननीयले त सिफारिस मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’ उनले भने । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाई थियो ।
कार्कीमाथिको संसदीय सुनुवाई बिहीबार
प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आगामी बिहीबार हुने भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको जानकारी दिएका छन् । बैठकले ३१ गते उजुरीकर्तासँग छलफल गर्ने र त्यसको भोलिपल्ट सुनुवाइ गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीमाथि २९ वटा उजुरी परेको र अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ । संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समितिले जेठ २६ गतेभित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाइबाट कार्कीको नाम स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
प्रचण्डले माधवलाई सम्झाउदै भने- ‘विरोध नगर्नु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् । आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको तर अहिलेको अवस्थामा यो ठिक रहेको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारको बताइएको छ । आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् । बजेट विनियोजन गर्दा विधि पद्धति भन्दा बाहिर गएर गरिएकाले आपत्ति जनाएको नेकपा एसले बताइरहेको छ । तर, बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने बताएको छ ।