बिजयनगर–१ बलुइया खोलामा खुलेआम बालुवा  लुट : प्रहरी, बन र जनप्रतिनिधि मौन, नियतमाथि गम्भीर प्रश्न

बिजयनगर–१ बलुइया खोलामा खुलेआम बालुवा  लुट : प्रहरी, बन र जनप्रतिनिधि मौन, नियतमाथि गम्भीर प्रश्न

कपिलवस्तुको बिजयनगर गाउँपालिका–१ अन्तर्गत पर्ने बलुइया खोलामा विगत करिब १० दिनदेखि अवैध रूपमा बालुवा तथा ग्राभेल निर्बाध रूपमा निकासी हुँदै आएको पाइएको छ । खोलामा रहेको झोलुङ्गे पुलको करिब २०० मिटर उत्तर र करिब ४ सय मिटर दक्षिणतर्फ दिनदहाडै उत्खनन भइरहेको छ ।

स्थानीयका अनुसार अवैध उत्खनन लामो समयदेखि चलिरहँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएका छैनन् । ईलाका प्रहरी कार्यालय गणेशपुरको गस्ती टोली तथा घुमुवा निरन्तर सो क्षेत्र आसपास हिँड्ने, त्यस्तै सशस्त्र प्रहरी र बन विभागको समेत नियमित गस्ती हुने गरेको भए पनि अवैध निकासी रोकिएको छैन ।

यसबारे ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक  महेश कुमार आचार्यसँग कुरा गर्दा उहाँले अहिलेसम्म यस विषयमा कुनै किसिमको सूचना वा जानकारी आफूहरूकहाँ नआएको प्रतिक्रिया दिनुभएको छ । “हामीकहाँ औपचारिक जानकारी आएको छैन, जानकारी आएमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइन्छ,” उहाँको भनाइ छ ।

अझ गम्भीर विषय के भने गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरूले समेत यस विषयमा कुनै अवरोध नगरेको देखिँदा सम्बन्धित निकायको नियतमाथि नै शंका उत्पन्न भएको छ । स्थानीय बासिन्दाले राज्यका जिम्मेवार निकायको मौनताले अवैध उत्खननकर्तालाई संरक्षण मिलिरहेको आशंका व्यक्त गरेका छन् ।

बलुइया खोलामा भइरहेको अनियन्त्रित उत्खननले वातावरणीय क्षतिको  जोखिम  बढाएको भन्दै स्थानीयले अविलम्ब अनुगमन गरि अवैध निकासी तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *