
काठमाडौं । अघिल्लो पटक लाज छोप्न मास्क लगाएर अदालत उपस्थित भएका बालकृष्ण खाँड आज बिना मास्क अदालत पुगे । अदालत परिसरमै उनीविरुद्ध एक महिलाले ‘नेपाली बेचुवा–देश बेचुवा’भन्दै गाली गलौज गरिन् । पत्रकारहरुतिर फर्केर खाँडले संक्षिप्तमा भने – यसमा संलग्न छैन ।’
अब यस प्रकरणमा को संलग्न छ, को छैन भन्ने कुराको निष्कर्ष अदालतले निकालि हाल्नेछ । मामिला अदालतमा प्रवेश गरेपछि यसको अन्तिम टुंगा दुई चार दिनमै हुने पनि होइन ।
एक कुरा निश्चित नै छ कि सरकार पक्षको दावीअनुसार अदालतले फैसला सुनायो भने मामिला कम्तिमा सात आठ महिना लम्बिनेछ । नभए पनि केही वर्ष त यो प्रकरण अदालतमा विचाराधीन हुने नै छ ।
नक्कली शरणार्थी प्रकरणले राजनीति र समाज तरंगीत पारिरहँदा आइतबार पनि अनेक घटनाक्रम विकास भए । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर प्रतीक अहिले फरार छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडविरुद्ध अदालतमै गालीगलौज भएको छ । म्याद थपका लागि आइतबार दिउँसो खाँडलाई काठमाडौं जिल्ला अदालत पु¥याइएको थियो । अदालत परिसरमै एक महिलाले अपशब्दसहित ‘नेपाली बेचुवा, देश बेचुवा’ भन्दै कराएकी थिइन् ।
पहिलो पटक म्याद थपका लागि अदालत लैजाँदा खाँडले मास्क र क्याप लगाएका थिए । तर आइतबार उनी बिना मास्क नै उपस्थित भए । यसपटक पनि प्रहरीले उनलाई हतकडी भने लगाएको थिएन । आरोपबारे पत्रकारहरुले सोधेको प्रश्नमा खाँडले संक्षिप्तमा भने – यसमा संलग्न छैन ।
अदालतले खाँडसहित पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राख्ने अनुमति दिएको छ । यता प्रहरीले थप केहीका लागि अदालतबाट पक्राउ अनुमति प्राप्त गरेको छ ।
नक्कली शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र कांग्रेसका पूर्वसांसद आङ टावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेलगत्तै उनको नेक्सस बादल पुत्र प्रतीकसँग रहेको चर्चा भएको थियो ।
यस्तो चर्चा लगत्तै प्रतीकले २१ वैशाखमा एक विज्ञप्ति जारी गर्दै ‘मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिग रुची रहेन’ भनेका थिए ।
बाबु गृहमन्त्री भएको बेला भएको ठगी र प्रपञ्चको मामिला बाहिरिएपछि प्रतिकले विज्ञप्तिमा ‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधै न्यायको पक्षमा काम गरेका छौं’ भनेका थिए ।
प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो प्रतिरक्षा गरेको नवौं दिनमा उनीविरुद्ध नै प्रहरीले पक्राउ अनुमति ल्याएको छ ।
यस प्रकरणमा पक्राउ परेर थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग हिरातमै पुगेर भेटवार्ता गर्ने कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
शेर्पा ७० सालमा रामेछापबाट संविधान सभामा निर्वाचित भएका थिए । हिरासतमा रहेका दुलाल र भण्डारीलाई भेटेर उनले बालकृष्ण खाँडको नाम नलिइ दिन आग्रह गरेको बुझिएको छ ।
गृहमन्त्री हुँदा बालकृष्ण खाँडलाई मन्त्रालयमै पुगेर रकम दिएको हिरासतमा रहेका दुलाल र भण्डारीले प्रहरीलाई बयान दिएको बताइएको छ ।
त्यो रकक फिर्ता हुने आश्वासन दिएर दुलाल र भण्डारीलाई खाँडलाई जोगाई दिन शेर्पाले आग्रह गरेपछि प्रकरणमा उनको पनि संलग्नता देखिएको हो ।
शेर्पासहित चार व्यक्ति यस प्रकरणको फरार सूचीमा परेका छन् । नेविसंघले नै भन्यो – बालकृष्ण खाँडलाई निलम्बन किन गरिँदैन ?
यस प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई ढिलै भए पनि नेकपा एमालेले निलम्वन गरेको छ । तर नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई निलम्वन गरिसकेको छैन ।
गम्भीर आरोप लागेर प्रहरी हिरासतमै पुगिसकेका खाँडलाई नेपाली कांग्रेसको पदाधिकारी बैठकले निलम्वन नगर्ने निर्णय गरेको थियो ।
आइतबार कांग्रेसकै विद्यार्थी सगठन नेविसंघका कार्यकर्ताले कैदीको भेषमा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले खाँडलाई अझैसम्म निलम्वन किन नगरिएको ? भन्ने प्रश्न उठाएका छन् ।
यता कांग्रेसकै युवा संगठन नेपाल तरुण दल भने कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको बचाउमा उत्रिएको छ । केही मिडियाहरुले बिना प्रमाण राणामाथि लाञ्छना लगाएको भन्दै यस क्रममा सरोकार राख्नेहरुलाई तरुण दलले सचेत रहन आग्रह गरेको छ ।
तरुका अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा नेतृ राणाको व्यक्तिगत चरित्र हत्या गर्ने प्रकारका अनर्गल प्रचार भएको भन्दै संगठनको ध्यानाकर्षण भएको उल्लेख छ । तर, नेपालका केही सञ्चार माध्यमहरुले शरणार्थी प्रकरणमा नेतृ राणाको पनि संलग्नता रहेको दावी गर्दै समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।
नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा राज्यप्रायोजित संगठित अपराधको मामिला सार्वजनिक भएपछि यसले नेपालको राजनीति र समाजलाई तरंगीत पारि नै रहेको छ ।
शनिबार काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा पनि कुशासनविरोधी आन्दोलन तथा प्रदर्शन भएका छन् ।
केही शंकास्पद स्वयंले आफ्नो प्रष्टिकरण दिने, केहीले अरुमार्फत प्रतिवाद गर्ने गराउने क्रम पनि चलिरहेको छ । गत बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग समेत प्रहरीले सोधपुछ गरेको अपुष्ट सूचनाहरु फैलिए ।
जसरी नेपाली कांग्रेसकी नेतृ आरजु राणा सिंगापुर भागेको भनेर भ्रामक सूचना फैलिएको थिए, त्यसै गरी मुख्यमन्त्री चौधरी पनि पक्राउ नै गरिएको दावी गर्दैै अफवाह फैलिएको थियो ।
शुक्रबार मुख्यमन्त्रीका प्रेस संयोजकले बिना प्रमाण भ्रम नफैल्याउन आग्रह गर्दै एक ध्यानाकर्षण पत्र सार्वजनिक गरेका थिए ।
एमालेको दोहोरो चरित्र, भन्यो – पहिलेका काण्डमा पनि अनुसन्धान हुनुपर्छ
शनिबार सकिएको नेकपा एमालेको पाँचौ केन्द्रीय कमिटीको बैठकले लडाकु शिविर घोटाला काण्डसहित विगतमा चर्चामा आएका सबै भ्रष्टाचारका घटनाको छानविन हुनु पर्ने माग गरेको छ ।
विगतका सबै काण्डहरुको निष्पक्ष छानविन भए एमालेको पूर्ण समर्थन हुने पनि सो पार्टीले वाचा गरेको छ । तर विगत भने एमालेको विरोधाभाष छ ।
नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वाइड बडी जहाज खरिदमा ४ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको दावी गर्दै तत्कालिन संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको थियो ।
सो उपसमितिका संयोजक कांग्रेसका सांसद राजेन्द्र केसी थिए । सो उपसमितिले ४ अर्ब रुपैयाँ अनियमितता भएको प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो ।
त्यसबेला प्रधानमन्त्री थिए –तत्कालिन नेकपा एक नम्बर अध्यक्ष केपी शर्मा ओली । संसदीय समितिले नै औंल्याएको विषयमा समेत तत्काली सरकारले निष्पक्ष छानविन गर्न आवश्यक ठानेन ।
तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले समेत वाइडबडी जहाज खरिदमा अनियमितता भएको ठहर गरेको थियो ।
यस्तो ठहर गर्नेमा उपसमितिका संयोजक डाक्टर दीपक प्रसाद भट्ट थिए । उनी चाहिँ नेकपाकै सांसद थिए । वाइडबडी सहित यती होल्डिङ्स काण्ड, ओम्नी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डहरु ओली प्रधानमन्त्री भएको बेला सार्वजनिक भएका थिए । ओलीले आफनो कार्यकालमा ती काण्डहरुको अनुसन्धान गर्न तत्परता देखाएका थिएनन् ।