
- सुजन चालिसे
काठमाडौँ । यसपटक नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन इतर पक्ष विगतका तुलनामा सशक्त रुपमा प्रस्तुत भएको छ । आफ्ना एजेण्डामा प्रष्टता ल्याउदै सशक्त रुपमा अघि बढ्न गएको मंगलबार रणनीतिक छलफल गरि निर्णय गरेको इतर पक्षले बैठकको पहिलो दिन आफ्नो रणनीति अनुरुप नै आवाज उठाएको देखिन्छ । अघिल्लो बैठकमा शुन्यप्राय रहेको इतर पक्षको आवाज यो बैठकमा केहि खुलेको हो । यद्यपि केन्द्रीय समितिमा बहुमत कायम शेरबहादुर देउवालाई दवावमा राख्न भने त्यत्ति सहज छैन ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक विहीबारबाट शुरु भएको छ । केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने ? र आफ्ना एजेण्डा कस्ले कसरी राख्ने ? यसबारे पूर्ण तयारी गरि बैठकमा सहभागि भएको शेखर–गगन पक्षले सभापति शेरबहादुर देउवा माथि दवाव बनाउने जुन रणनीति बनाएको थियो, त्यसलाई बैठकमा उतार्ने प्रयास गरेको देखिन्छ । बैठकको सुरुवातमा बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले अघिल्लो बैठक यताका २ महिनामा सभापतिबाट हुनुपर्ने काम नभएका भन्दै आक्रोश पोखेका छन् । श्रावण १० मा सम्पन्न अघिल्लो केन्द्रीय समिति बैठकले भाद्र १५ गतेभित्र सम्पुर्ण विभाग गठन गर्ने निर्णय गरेको थियो । तर हालसम्म कांग्रेसका ७० मध्ये १५ ओटा विभागमा अध्यक्षमात्र चयन भएका छन् भने एउटा विभागले पुर्णता पाएको छ । यस्तो किन भयो भनि गगनले सभापतिलाई प्रश्न गर्नुले पनि संस्थापन इतर सशक्त रुपमा प्रस्तुत हुने रणनीतिमा केही हदसम्म सफल देखाउछ ।
अघिल्लो बैठकमा कमजोर देखिएको शेखर–गगन पक्ष यो पटक तयारीका साथ बैठकमा प्रस्तुत भएको हो । केन्द्रीय समिति बैठकको संघारमा रहेका समय गएको मंगलबार यो समुहको छुट्टै बैठक बसेर देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने निर्णय गरेको थियो । मंगलबार आफ्नो रणनीति तयार गरि संस्थापन इतर समुहका नेता शेखरसहितको टोलीले बुधबार सभापति देउवालाई उनकै निवासमा भेटेर खबरदारी गरेका थिए । सभापतिले कार्यशैली परिवर्तन नगर्ने हो भने निर्मम भएर प्रस्तुत हुने उनिहरुको चेतावनी थियो । जवाफमा देउवाले शेखरलाई थमथम्याउँदै सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए । तर बिहिबारको केन्द्रीय समिति बैठकअघिनै देउवाले आफ्नो एकलौटी व्यवहारलाई निरन्तरता दिइसकेका छन् । आठ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले इतर पक्षका जम्मा २ जनालाई मात्र समावेश गरेका छन् । विभाग र भातृ संगठनहरुमा एकलौटी मनोनयन गरेको भन्दै देउवासँग इतर पक्षको आक्रोश यथावत रहेकै बेला देउवाको यो कदमले उनीहरु झन चिढिएका छन् ।
केन्द्रीय समितिमा सहज बहुमतमा रहेका देउवाले अघिल्लो बैठकमा इतर पक्षलाइ सजिलै दवाइ दिएका थिए । त्यतिबेला देउवासँग हिमचिम बढाएका इतर पक्षका नेता शेखर अहिले आफ्नै लयमा फर्केर इतर पक्षको नेतृतव गरिरहेका छन् । शेखरले आफ्नो अडानलाई सशक्त बनाउनेतर्फ ध्यान दिएकाले पनि इतरपक्ष यसपटक सभापतिप्रति आक्रामक देखिएको छ । यसरी हेर्दा पहिलो दिनकै लयमा आफुलाई कायम राखे यसपटक आफ्नो रणनीति अनुसार देउवालाई दबाबमा पर्न इतर पक्ष केहीहदसम्म सफल हुने देखिन्छ ।