
विराटनगर । अर्थमन्त्री प्रकाशरण महतले आगामी मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा र राजस्व नीतिबारे आज यहाँ भएको कोशी प्रदेशस्तरीय अन्तरक्रियामा मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने उनले बताए ।
‘अर्थतन्त्रमा किन ढिलासुस्ती देखियो भन्ने कुरा निजी क्षेत्रलाई थाहा छ’, उनले भने । उनले राष्ट्र बैंकले यसलाई गम्भीरतापूर्वक लिएको र छिट्टै निर्णयमा पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार रहेको बताउँदै उनले राष्ट्र बैंकले मौद्रिक नीतिलाई वातावरणमा कडाई गरेपनि अब ढिला गर्नु पर्ने बताए । उनले मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए । “व्याजदरले निश्चित रूपमा समस्या सिर्जना गरेको छ। अब मौद्रिक नीतिमार्फत पूँजी प्रवाह आवश्यक छ,’ उनले भने, ‘यसबाट उद्योग–व्यवसायलाई टेवा पुग्नेछ ।
अहिले पुँजीगत खर्च न्यून भएकाले यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ छ । ‘हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’ आदिमा समस्या छ,’ उनले भने, ‘यसका कारण सो आयोजनाको काम अघि बढ्न सकेको छैन । उनले आर्थिक वर्षको अन्तिम चौमासिकमा ठेक्का दिने चलन हटाउनु पर्ने धारणा राखे ।
आर्थिक वर्षको पहिलो दिनदेखि नै काम थाल्नुपर्ने बताउँदै उनले यसका लागि सबै मन्त्रालयका साथीभाइसँग कुरा गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन एक महिना बाँकी रहेको र बजेटमार्फत समस्या समाधान गर्न आफू इमान्दार रहने स्पष्ट पारे ।
‘अर्थतन्त्र भनेको कार जस्तै हो, कारमा स्टेयरिङ मात्र राम्रो हुँदैन, अन्य पक्ष पनि राम्रो हुनुपर्छ’, उनले भने, ‘सबैले मिलेर आफ्नो जिम्मेवारी पूरा गरे मात्र गाडी गन्तव्यमा पुग्न सक्छ । उनले समस्याको कारण र नतिजा बिन्दुमा उल्लेख गरी सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरे ।