
महेन्द्र यादव , जेठ ३०
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष सूचनाका आधारमा १८८ ग्राम १५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
२०७८/०३/२९ गते साँझ ५ः०० बजे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले मायादेवी गाउँपालिका वडा नं. १ बर्रोहियामा विशेष निगरानीका क्रममा चेकजाँच गर्ने क्रममा बा. ६५ प ६८०० नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका वडा नं. ३ खैरटीका २८ वर्षीय विनोद कुमार पाण्डे र वडा नं. ८ नन्दनगरका ३५ वर्षीय रमेश कुमार यादव रहेका छन्।
उनीहरू सवार मोटरसाइकलमा शंकास्पद वस्तु लुकाएर राखिएको पाइएपछि खोजतलास गर्दा कालो प्लास्टिकमा बेरेर झोलामा लुकाइएको अवस्थामा लागुऔषध जस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ। बरामद गरिएको पदार्थको तौल १८८ ग्राम १५ मिलिग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा कानुनी कारवाही अगाडि बढाइएको र उनीहरूलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।