
काठमाडौं । भारतले आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा अंकित गरेको छ । अखण्ड भारतको ‘मुरल’ नक्सा भनेर समेटिएको उक्त प्राचिन नक्शामा नेपालका विभिन्न भुभागहरु समेटिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि सार्वजनिक गरिएको मुल नक्साले बुधबारदेखि हुने भनिएको भ्रमण खल्लो बनाईदिएको छ ।
नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भुभागहरु समेटेर भारतले आफ्नो नयाँ संसद भवनमा भित्ते नक्सा बनाएको छ ।
नेपालमात्र होइन, भारतले पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार, र श्रीलंकाका भुभागहरुसमेत उक्त नक्सामा समेटेको छ ।
विवादित उक्त नक्सामा विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरिएको भन्दै भारतीय सञ्चार माध्यामहरुले विश्लेषण गरिरहेका छन् ।
भारतको इतिहासको हालसम्म गलत अध्ययन हुने गरेकाले सहि अध्ययन गराउनका लागि भन्दै सरकारद्वारा यो कदम चालिएको प्रचारबाजी भारतीय मिडियाहरुले गरिरहेका छन् । तर इतिहास अध्ययन गर्न शैक्षिक र वैचारीक बाटो समाउन छाडेर नक्शा जारी गर्नुले भारत सरकारको छिमेकीसँग निहँु खोज्ने नियत प्रष्ट देखिन्छ ।
भारतले जारी गरेको नक्शाको चौतफी विरोध भईरहँदा नेपाल सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
यसअघि लिम्पियाधुरा, लिपुलेकदेखि कालापानीको नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि यसको तीब्र विरोध भएको थियो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले उक्त भूभागहरु समेटेर तयार पारेको चुच्ने नक्सा संसदबाट पारित गरी प्रचलनमा रहेको छ । तर यतिबेला भने प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी गरिरहँदा लुम्बिनीसहित कपिलवस्तुका भूभागहरु समेटेर तयार पारेको नक्सा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद भवनमा राखिएको छ ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भारतले यो विषयमा प्रष्ट पानुपर्ने माग गरेका छन् भने एमाले अध्यक्ष केपी ओलीले यो विषयमा भारतले प्रष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
त्यसबाहेक बुधवार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्ड र पाँच पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा यस विषयमा मौन छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणमा यो विषयमा प्रष्टिकरण माग्नुपर्ने बताएका छन् ।
भारत जस्तो लोकतान्त्रिक मुलुकको सार्वभौम संसदमै छिमेकी राष्ट्रहरुको भूमिलाई समेत देशको मुल नक्सामा समेटिनु गम्भीर विषय हो ।
भारतीय संसद भवन उद्घाटनका क्रममा नै विवादित भएको थियो । राष्ट्रपतिबाट उद्घाटन गरिनुपर्नेमा प्रधानमन्त्री मोदीले नै उद्घाटन गरेको भन्दै १७ वटा विपक्षी दलहरुले विरोध जनाएका थिए ।
त्यही संसद भवनमा सार्वभौम राष्ट्रहरुको भूमि समेटेर देशको मुरल नक्सा तयार गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमण हुनु एक दिनअघि सार्वजनिक भएको यो नक्साकोबारेमा प्रधानमन्त्रीले कसरी प्रतिक्रिया जनाउनेछन्, प्रतिक्षाको विषय बनेको छ ।