
कपिलवस्तु, १३ पुस
जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ लिंकगेट नजिकैबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको सात लाख सात हजार दुई सय बत्तिस रुपैयाँ बराबरको औषधी प्रहरीले बरामद गरेको छ। शनिबार बिहान ९ बजे चेकजाँचको क्रममा नेपाल प्रवेश गर्न लागेका प्रेम बहादुर नेपालीलाई प्रहरीले रोकी खोजतलास गर्दा, उनले बोकेको जुटको बोरा भित्र विभिन्न किसिमका औषधीहरु फेला परेका थिए। औषधी व्यवस्था विभागको अनुमति बिना ल्याइएका औषधी बरामद गरिएपछि ४१ वर्षीय नेपालीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार, प्रेम बहादुर नेपाली अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा हुन्। उनलाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभाग, बिजुलीबजार काठमाडौं पठाइएको छ।
बरामद औषधीको विवरण:
१. Mycophenolate mofetil Tablets IP 500 mg – २३ प्याकेट (२७६ पत्ता), प्रति पत्ता रु १२५२, कुल रु ३४५५५२।
२. Mycophenolic Acid Delayed-Release Tablets USP 360 mg – १० प्याकेट (१२० पत्ता), प्रति पत्ता रु २१२८, कुल रु २५५३६०।
३. Tacrolimus Capsules IP 1 mg – ५ प्याकेट (६० पत्ता), प्रति पत्ता रु ७२६, कुल रु ४३५६०।
४. Tacrolimus Capsules IP 0.5 mg – ५ प्याकेट (६० पत्ता), प्रति पत्ता रु ३६९, कुल रु २२१४०।
५. Darbepoetin alfa Injection 25 mcg – २ प्याकेट (१२ इंजेक्सन), प्रति इंजेक्सन रु ३३८५, कुल रु ४०६२०।
प्रहरीका अनुसार औषधीहरु प्रायः मृगौला रोगीहरुको उपचारका लागि प्रयोग गरिने औषधी हुन्। हाल यस घटनामा थप अनुसन्धान भइरहेको छ।